माओवादी प्रदेश १ को पदाधिकारीमा दाबी गर्नेको संख्या बढ्दै, झापाबाट चारजना आकांक्षी
बिर्तामोड । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) प्रदेश १ को अध्यक्षसहित पदाधिकारीमा दाबी गर्नेको संख्या दिनदिनै बढिरहेको छ ।
प्रदेश समितिको बुधबार बसेको पहिलो बैठकमा केन्द्रीय नेताहरुले प्रदेश समितिमा नरहने घोषणा गरेपछि केन्द्रीय सदस्य बाहेकका प्रदेश सदस्यहरुलाई नेतृत्व लिने बाटो खुलेको छ । केन्द्रीय नेताहरुले पदाधिकारीमा दाबी छाडेपछि प्रदेशका नेताहरुले धमाधम आफ्नो दावी राख्न थालेका छन् ।
यसअघि केन्द्रीय सदस्यबाटै अध्यक्ष बन्छन् भन्ने विश्वासमा बसेको प्रदेश समितिका अन्य नेताहरुले अध्यक्षमा दाबी गरेका थिएनन् । अध्यक्ष को बन्छ भन्ने यकिन नभएको कारण उनीहरुले अन्य पदको पनि खुलेर दावेदारी पेश गरेका थिएनन् । तर, केन्द्रीय सदस्यबाट दाबी हटेसँगै समान हैसियतका नेताबीच अध्यक्षको दाबी गर्ने होडबाजी नै चलेको छ ।
अहिलेसम्म अध्यक्षमा दाबी गर्नेहरुको संख्या ६ पुगेको छ । जसमा पाँचथरका हर्कबहादुर लावती (मिक्सो), सुनसरीका शिवकुमार डाँगी र मुक्साहाङ मेन्याङ्बो (मुकेश), उदयपुरका मोहनबहादुर खत्री (हेनरी), झापाका मणिकुमार साम्पाङ (विजय) र विराटनगरका हेम कार्की (विशाल) रहेका छन् । दाबी गर्नेको संख्या अझै बढ्न सक्ने देखिएको छ ।
माओवादीले नेतृत्व चयनका लागि भन्दै आगामी पुस ७ गतेलाई कार्यसमितिको बैठक आव्हान गरेको छ । उक्त बैठकमा पदाधिकारीको चयनबारे सुझाब दिन भन्दै प्रदेश १ माओवादीका सहइन्चार्ज तथा केन्द्रीय सदस्य अजम्बर काम्बाङको नेतृत्वमा ५ सदस्यीय कार्यदल निर्माण भएको छ । कार्यदलका अन्य सदस्यहरुमा सुरेशकुमार राई (हिमाल), इन्द्रबहादुर आङ्बो (मौसम), हेमराज भण्डारी र केन्द्रीय सदस्य रामकुमारी चौधरी रहेका छन् ।
यस्तै माओवादीको उपाध्यक्ष पदका लागि खोटाङका ध्रुव बुढाथोकी (धिरेन), झापाका ज्योतिसिंह दर्लामी र विराटनगरका भोगेन्द्र यादवले दाबी प्रस्तुत गरेका छन् । महिला उपाध्यक्षका लागि संखुवासभाकी इन्दीरा मिश्र (चेतना) र मोरङकी विनिता घिमिरे (सामना) लगायतले आकांक्षा राखेका छन् ।
यस्तै सचिवमा झापाका सिपी कडरिया, मोरङका गणेश उप्रेती (सुशील), ओखलढुंगाका मोहनकुमार खड्का (हिमशिखर), सुनसरीका आइन्द्रविक्रम बेघा र धनकुटाका ऋषिराम ढुंगानाले सशक्त दाबी गरेका छन् । सर्वसम्मत नेतृत्व चयन भए कडरिया उपाध्यक्ष रहने बुझिएको छ ।
यस्तै सहसचिवमा आकांक्षा राख्नेको संख्या धेरै भएपनि अहिलेसम्म झापाका रेवतीराज पुरी (गगन) र सोलुखुम्बुका ठमनाथ पराजुली (ध्रुव) ले मात्रै सार्वजनिक घोषणा गरेका छन् । कोषाध्यक्षमा भने सुनसरीका मदन चुँडालले दाबी गरेका छन् । हालसम्म नेतृत्वमा खुलेर दाबी गर्नेहरुमा अधिकांश पुरुष रहेका छन् । पदाधिकारी दाबी गर्नेमा ताप्लेजुङका बिजय बनेमसमेत रहेका छन् ।
मंसिर २५ र २६ गते मोरङको विराटचौकमा सम्पन्न माओवादी केन्द्र प्रदेश १ को अधिवेशनबाट नेतृत्व छान्न नसकेपछि माओवादीले २७१ जनाको कार्य समिति चयन गरेको थियो । अधिवेशनले कार्यसमिति चयन गरेपनि पदाधिकारी चयनमा विवाद भएपछि थाँती राखेको थियो । कार्य समितिबाटै पदाधिकारी चयन गर्ने माओवादीको विधानमा व्यवस्था छ ।
माओवादी केन्द्रको विधान अनुसार प्रदेश सम्मेलनबाट निर्वाचित भएको कमिटीले १ अध्यक्ष, ३ उपाध्यक्ष, १ सचिव, ३ सहसचिव र १ कोषाध्यक्षसहित ९ सदस्यीय पदाधिकारी चयन गर्नेछ ।