नेपाली कांग्रेसको सभापतिमा देउवा निर्वाचित
काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट सभापतिमा शेरबहादुर देउवा निर्वाचित भएका छन् । मंगलबार भएको दोस्रो चरणको मतदानमा शेखर कोइरालालाई ९०७ मतान्तरले पराजित गर्दै देउवा दोस्रो कार्यकालका लागि सभापति चुनिएका हुन् ।
सभापतिका लागि पहिलो चरणमा स्पष्ट बहुमत आउन नसकेपछि दोस्रो चरणको मतदान भएको थियो । दोस्रो चरणको मतदानमा ४ हजार ६२३ मत खसेको थियो र सभापतिमा निर्वाचित हुन बहुमत अर्थात २३११ मत चाहिन्थ्यो । देउवाले २७३३ मत पाए भने निकटतम प्रतिद्वन्द्वी कोइरालाले १८५५मत पाएका छन् । ३५ मत भने बदर भएको छ ।
यसअघि सोमबार भएको पहिलो चरणको मतदानमा सभापतिका पाँच जना उम्मेदवारमध्ये सबभन्दा धेरै मत देउवाले ल्याएका थिए । देउवाले धेरै मत ल्याएपनि बहुमत पुगेको थिएन ।
कुल ४७४३ महाधिवेशन प्रतिनिधिमध्ये ४ हजार ६७९ जनाले पहिलो चरणमा मतदान गरेका थिए । सभापतिमा चुनिन २३४० मतको आवश्यक पर्दथ्यो । देउवाले २२५८ पाएका थिए भने शेखरले १७०२ । प्रकाशमान सिंहले ३७१ मत पाउँदा विमलेन्द्र निधिले २५० र कल्याण गुरुङले २२ मत पाए । कुनै पनि उम्मेदवारले बहुमत नपाएपछि विधान अनुसार धेरै मत ल्याउने दुई जनाबीच दोस्रो चरणमा प्रतिस्पर्धा भएको हो ।