व्यवसायीक क्षेत्र विस्तार गर्दै धौलागिरी पारिजात
बिर्तामोड । धौलागिरी पारिजात बहुउद्धेश्यीय सहकारी संस्थाले व्यवसायको क्षेत्रलाई बढाउँदै लगेको छ । शनिबार बिर्तामोडमा सम्पन्न १४औँ बार्षिक साधारण सभामा संस्थाले बचत तथा ऋणको अतिरिक्त व्यवसायको क्षेत्र विस्तार गर्दै लगेको जनाएको हो ।
संस्थाका अध्यक्ष कृष्ण पौडेलले धौलागिरीले बचत तथा ऋणसँगै सुपथ मुल्यको कृषि सहकारी पसल तथा सामुदायिक विद्युतीकरण र डिपार्टमेन्टल स्टोर सञ्चालन गर्दै आएको जानकारी दिए । धौलागिरीको जयपुरमा यस अघिदेखि नै डिपार्टमेन्ट स्टोर सञ्चालनमा थियो भने यस आर्थिकमा भद्रपुरको पुहाँतुवारीमा शुरु भइसकेको छ । निकट भविष्यमा बिर्तामोडमा मुख्य गोदाम रहने गरी अर्जुनधारा नगरपालिकाको सिस्ने र भद्रपुर नगरपालिका ३ स्थित ज्ञानेचोकमा डिपार्टमेन्ट स्टोर सञ्चालनमा ल्याउने योजना रहेको अध्यक्ष पौडेलले जानकारी दिए ।
त्यस्तै, धौलागिरीले बाह्रदशी गाउँपालिकाको गोलधापमा कृषि सम्बन्धी सुपथ मुल्यको सहकारी पसल सञ्चालन गर्दै आएको छ ।
कृषकहरुलाई उत्प्ररित गर्ने उद्धेश्यले कृषिजन्य उपज प्रशोधन उद्योग सञ्चालन गर्न साधारण सभामा प्रस्ताव गरिएको अध्यक्ष पौडेलले बताए । पौडेलका अनुसार यस उद्योगले कृषकहरुबाट कृषिजन्य उत्पादन गरी प्रशोधन गरेर बजारीकरण गर्नेछ ।
त्यस्तै, शेयर सदस्यहरुलाई सहज र सुपथ मुल्यमा स्वास्थ्य सेवा प्रदान गर्ने उद्धेश्यले फार्मेसी तथा डाइग्नोष्टिक सेवा सञ्चालन गर्ने संस्थाको योजना रहेको बताइएको छ । यो सेवाअन्तर्गत सदस्यहरुले सुपथ मुल्यमा औषधी, ल्याब टेष्ट तथा अन्य डाइग्नोष्टिक सेवा पाउने अध्यक्ष पौडेलको भनाई छ । यो सेवालाई विस्तार गरी अस्पतालमा परिणत गर्ने संस्थाको दीर्घकालिन योजना रहेको उनले बताए ।
संस्थाले सदस्यहरुलाई प्रविधीमैत्री बनाउन धौलागिरी मोबाइल बेङ्किङ सेवा सञ्चालन गर्ने, एक सहकारी एक सदस्यको नीति अनुरुप अगाडी बढ्ने साजै अन्य सहकारीहरुसँग एकिकृत गर्ने लक्ष्य लिएको छ ।
कार्यक्रमका प्रमुख अतिथी जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकालले सहकारीहरुले विगतमा बैंकले जस्तो नाफामुखी भएर गर्ने स्वरुप परिवर्तन भएको बताए । सहकारीहरुले बहुव्यवसाय गर्न पाउनका लागि राज्यसँग पहल भइरहेको उनले जानकारी दिए । सहकारीहरुलाई उत्पादन र बजारीकरणमा लैजान छलफल तथा बहस भईरहेको उनको भनाई छ । उनले व्यवसायमा सहकारीलाई अगाडी बढाउन सके बचत र ऋण बिचको स्प्रेडदर घटाउन सकिने धारणा व्यक्त गरे । वित्तीय क्षेत्रमा हाल देखिएको तरलता अभावका कारण केहि समय ठूलो ऋण लगानी गर्न सकिने अवस्था नरहेको ढकालले बताए । नेपालमा अवैध रहेको डिजिटल पैसा खरिदमा समेत ठूलो धनराशी खर्च भइरहेका कारण, दँशै तथा तिहारमा धेरै वस्तुको आयात भएका कारण वित्तीय क्षेत्रले तरलताको समस्या भोगिरहनु परेको उनको धारणा छ ।
कार्यक्रममा धौलागिरीले गत आर्थिक बर्षमा उत्कृष्ट कार्य गर्ने दुई जना कर्मचारी र एउटा सेवाकेन्द्रलाई पुरस्कृत तथा सम्मान गरेको छ । जयपुर सेवा केन्द्रलाई उत्कृष्ट सेवा केन्द्रको रुपमा सम्मान गरिएको छ भने सोहि केन्द्रका प्रमुख कुलप्रसाद पाण्डेलाई स्टाफ अप दी इयर २०७७ बाट नगद १० हजार रुपैँया सहित पुरस्कृत गरिएको छ । त्यस्तै, लक्ष्मीपुर सेवाकेन्द्रमा कार्यरत बजार प्रतिनिधी दुर्गा भट्टराई अधिकारीलाई स्टार अफ दी इयर २०७७ बाट नगद ५ हजार रुपैँयासहित पुरस्कृत गरिएको छ ।
संस्थामा गत आवको अन्त्यसम्ममा ४ हजार ३३१ महिलासहित ७६९९ रहेको र ४ करोड २८ लाख ६० हजार २०० शेयर पूँजी रहेको बताइएको छ । बिर्तामोडमा मुख्य कार्यालय रहेको धौलागिरीले बुद्धशान्तिको जयपुर र बुधबारे, बाह्रदशीको गोलधाप, अर्जुनधाराको लक्ष्मीपुर, सिस्ने र मिलडाँडामा सेवा केन्द्र सञ्चालनमा रहेका छन् भने भद्रपुरको पुहाँतुबारी र ज्ञानेचोकमा सेवाकेन्द्र सञ्चालन गर्ने तयारी भइरहेको छ ।
‘सुरक्षित बचत आकर्षक व्याज सुलभ कारोबारका लागि धौलागिरीको साथ’ भन्ने मुल नाराका साथ २०६४ सालबाट शुरु भएको धौलागिरी बचत तथा ऋण सहकारी संस्था २०७२ असोज १७ गते साविक गोलाधाप ४ झापामा रहेको पारिजात बहुउद्धेश्यीय सहकारी संस्थासँगको एकिकरण पश्चात धौलागिरी पारिजात बहुउद्धेश्यीय सहकारी संस्थाको रुपमा कारोबार गर्दै आएको छ ।
संस्थाको १४औँ साधारणसभामा प्रेस काउन्सिल नेपालका सदस्य गणेश पोखरेल, बिर्तामोड नगरपालिकाका सहकारी तथा सामाजिक विकास शाखा प्रमुख डिल्ली दाहाल, नेकपा एमाले हल्दिबारीका अध्यक्ष त्रिलोचन सापकोटा सहकारीकर्मी, शैलेन्द्र कुरुम्बाङ लगायतले शुभकामना मन्तव्य राखेका थिए