२०८३ बैशाख ६ गते , आईतबार

स्वस्तिमा खड्का ब्राण्ड एम्बास्डर रहेको ‘मिजाज’ ब्राण्डका उत्पादन सार्वजनिक

sajilo news
परिवेश मिडिया
२०७८ मंसीर २० गते , सोमबार
स्वस्तिमा खड्का ब्राण्ड एम्बास्डर रहेको ‘मिजाज’ ब्राण्डका उत्पादन सार्वजनिक

बिर्तामोड । नेपालमा उत्पादित अलैँचीको खाद्यबस्तु रहेको ‘मिजाज ब्राण्ड सार्वजनिक भएको छ । एभरेष्ट लार्ज कार्डामम इन्डष्ट्रिज प्रा.लि.ले उद्घाटनसँगै मिजाज ब्राण्डको खाद्य वस्तु सार्वजनिक गरेको हो ।

झापाको अर्जुनधारा ८ कप्तानबारीमा दुई बर्ष अघि स्थापना भएपनि कोरोना संक्रमणका कारण सोमबार एभरेष्ट लार्ज कार्डामम इन्डष्ट्रिज प्रा.लि.को उद्घाटन भएको छ । उद्घाटनको अवसरमा कम्पनीले आफ्ना मिजाज ब्राण्डका चार उत्पादन सार्वजनिक गरेको छ । कम्पनीले माउण्टेन पर्ल्स, अलैँची पाउडर, अलैँची दाना र अलैँची सार्वजनिक गरेको हो ।

कम्पनीले चर्चित नायिका स्वस्तिमा खड्कालाई आफ्नो ब्राण्ड एम्बास्डरको रुपमा घोषणा गरेको छ । खड्काले नेपालमा उत्पादित अलैँचीको धेरै फाइदा रहेको र यसलाई आम उपभोक्ता माझ पुर्याउन सक्दो कोशिस गर्ने बताइन् । यी उत्पादनहरु खानामा मसलाको रुपमा तथा पेयपदार्थहरुमा हालेर खाँदा खानेकुरा स्वादिलो तथा स्वास्थ्यवर्धक हुने खड्काले बताइन् ।

कार्यक्रमका प्रमुख अतिथी नेपाल उद्योग वाणिज्य संघका प्रदेश अध्यक्ष टिकाराज ढकालले नेपालमा उत्पादित गुणस्तरीय खाद्यवस्तुले गुणस्तरहिन विदेशी बस्तुलाई विस्थापित गर्नुपर्ने धारणा व्यक्त गरे । उनले कृषिजन्य उद्योगलाई राज्यले सहयोग गर्नुपर्ने बताए ।

नेपाल उद्योग वाणिज्य संघका केन्द्रिय सदस्य नरेन्द्र खड्काले नेपाल पछिल्लो समय कृषिमा कमजोर हुँदै गएको बताए । खड्काका अनुसार नेपाली उत्पादन भारत निर्यात गर्नुपर्ने र भारतले उक्त वस्तु भ्यालु एड गरी महंगोमा बेच्ने गरेको छ ।

सहज परियोजनाका टिम लिडर रिक भ्यान्डर क्याम्पले नेपालको आर्थिक वृद्धिका लागि कृषिमा जोड दिनु पर्ने बताए । यसका लागि व्यवसायी तथा कम्पनीहरुले त्यस्ता वस्तुलाई प्रशोधन गरी खपत तथा निर्यात गर्नुपर्ने बताए । सहजले कृषक र व्यवसायीको हितमा काम गरिरहेको उनको भनाई छ । अलैँची एक चासोको बिषय भएको जुन बिना प्रशोधन भारतलगायतका देशमा निर्यात भइरहेकाले यसमा सहजले सहजीकरण गरिररहेको क्याम्पको भनाइ थियो ।  

कम्पनीका अध्यक्ष निर्मल भट्टराईले नेपालमा उत्पादित अलैँची स्वदेशमै खपत गराउने उद्धेश्यका साथ कम्पनी शुरु गरेको बताए । कम्पनीले बार्षिक २५ हजार बोरा र १ अर्वको कारोबार गर्ने लक्ष्य लिएको उनको भनाई छ । भट्टराईका अनुसार कम्पनीले यो बर्ष २० करोडको कारोबार गरेको थियो । हाल चारवटा वस्तुको उत्पादन भइरहेको भएपनि निकट भविष्यमा कार्डामम टी र कार्डामम ग्रीन टी उत्पादन गर्ने कम्पनीले जनाएको छ ।

चारजना युवा व्यवसायीहरु भट्टराई, सञ्जिव घिमिरे, भरत चौधरी र रामकृष्ण विष्टले ७ करोड रुपैँयाको लागतमा शुरु गरेको यो कम्पनीले विशुद्ध अलैँचीलाई प्रशाधन गरी विभिन्न खाद्यवस्तु तयार गरी विक्री गर्ने कम्पनीका प्रबन्ध निर्देशक रहेका सञ्जिव घिमिरेले जानकारी दिए ।

कम्पनीलाई नेपाल र स्वीजरल्याण्ड सरकारको संयुक्त परियोजना सहजले सहजिकरण गरिरहेको छ । सञ्चारकर्मी केशव भट्टराईले सञ्चालन गरेको कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका प्रदेश सदस्य कुमार भट्टराई, विनोद बस्नेत, झापा उद्योग संघका अध्यक्ष यामबहादुर श्रेष्ठ, विर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश सिवाकोटी, नेपाल अलैँची व्यवसायी महासंघका उपाध्यक्ष इन्द्रचन्द विन्दल, नेपाल सुपारी प्रशोधन तथा निर्यात व्यवसायी संघका देवीप्रसाद खतिवडा लगायतको उपस्थिती रहेको थियो ।

सम्बन्धित समाचार