राप्रपाको मतगणना जारी, नतिजा आजै आउने
बिर्तामोड । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को नयाँ नेतृत्व चयनका लागि शनिबार भएको मतदानको मत गणना जारी छ । शनिबार मध्यान्ह करिब १२ बजेदेखि सुरु भएको मतदान राति साढे ११ बजे सम्पन्न भएको निर्वाचन समितिले जानकारी दिएको छ ।
करिब १ बजेपछि देखि शुरु भएको गणनामा यो समाचार तयार पार्दासम्म १ हजार ५० मत गणना सकिएको र राजेन्द्र लिङ्देनको पक्षमा ५१७ र कमल थापाको पक्षमा ४३१ मत प्राप्त भएको पार्टीका बिर्तामोड नगर अध्यक्ष रञ्जु प्याकुरेलले जानकारी दिइन् ।
राप्रपाको कुल ४३७९ जना मतदातामध्ये ३८७३ मत खसेको छ भने निर्वाचन प्रक्रियामा ५०६ मतदाता सहभागी नै नभएको निर्वाचन समितिले जनाएको छ ।
राप्रपाको नयाँ नेतृत्वका लागि कमल थापा र राजेन्द्र लिङ्देन प्यानलसहित चुनावी मैदानमा रहेका छन् । राप्रपाको पदाधिकारीमा थापा प्यानलबाट बुद्धिमान तामाङ, विक्रम पाण्डे, ध्रुवबहादुर प्रधान उपाध्यक्षको उम्मेदवार रहेका छन् । यस्तै थापा प्यानलबाटै महिला उपाध्यक्षमा रोशन कार्की उम्मेदवार रहेकी छन् ।
यसैगरी महामन्त्रीको उम्मेदवार भुवन पाठक, भास्कर भद्रा र कुन्ती शाही रहेका छन् । यसैगरी लिङ्देन प्यानलबाट उपाध्यक्षमा बिक्रम पाण्डे, दिलविकास राजभण्डारी, रामचन्द्र राय र लीला श्रेष्ठ उम्मेदवार रहेका छन् भने महामन्त्रीमा डा धवल शम्शेर राणा, श्याम तिमिल्सिना र रेखा थापाको नाम रहेको छ । विक्रम पाण्डेको नाम भने दुबै पक्षले प्यानलमा राखेका छन् ।
लिङ्देनलाई वर्तमान अध्यक्ष प्रकाशचन्द्र लोहनी र युवापंक्तिको साथ रहेको छ भने थापालाई बुद्धिमान तामाङ, दीपक बोहरालगायतका हस्तीहरुको समर्थन रहेको छ । तर, अर्का अध्यक्ष पशुपति शमशेर राणाले भने तटस्थ बस्ने बताएका थिए । यद्यपि राजेन्द्र लिङ्देन समूहले राणाको समर्थन आफूहरुलाई रहेको बताएपछि भने उनले शनिबार हस्तलिखित विज्ञप्तिमार्फत काँचो नेतृत्वलाई आफ्नो समर्थन नरहेको बताएका थिए । राप्रपामा युवा नेतृत्वको बहस चलिरहेको बेला कसको पक्षमा नतिजा आउला भन्नेमा धेरैलाई चासो छ । निर्वाचन समितिले कुनै अवरोध नआए नतिजा आजै आउने बताएको छ ।