दुई दर्जनबढी कम्पनीको आईपीओ आउँदै
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)मा २५ वटा कम्पनीको प्राथमिक सेयर (आईपीओ) र सातवटा कम्पनीको हकप्रद सेयर पाइपलाइनमा रहेका छन् । २५ वटा कम्पनीहरूको ६ अर्ब ८० करोडबराबरको आईपीओ निष्कासन गर्ने तयारी रहेको छ ।
यी कम्पनीले कुल ६ अर्ब ८० करोड ७६ लाख ४ सयबराबरको ६ करोड १३ लाख ५६ हजार ४ कित्ता आईपीओ निष्कासन गर्ने तयारी गरेका हुन् ।
यसैगरी, सेबोनको पाइपलाइनमा रहेका ६ वटा कम्पनीले कुल १ अर्ब ६५ करोड २८ लाख ६४ हजार ६ सय रुपैयाँबराबरको हकप्रद निष्कासनका लागि अनुमति मागेका छन् । अनुमति मागेका कम्पनीहरूमा दुईवटा बिमा, दुईवटा हाइड्रोपावर, दुईवटा फाइनान्स र एउटा विकास बैंकको हकप्रद रहेका छन् ।
आईपीओको तयारीमा रहेका २५ वटा कम्पनीमध्ये ६ वटा लघुवित्त वित्तीय संस्था, दुईवटा इन्स्योरेन्स कम्पनी, १५ वटा हाइड्रोपावर कम्पनी र दुई अन्य समूहका कम्पनी रहेका छन् । अन्य समूहका कम्पनीमा इमर्जिङ नेपाल र डिस मिडिया नेटवर्क छन् ।
नेपाल धितोपत्र बोर्डका अनुसार २५ वटा कम्पनीमध्ये सबैभन्दा बढी ग्रिन भेन्चर लिमिटेडले ६२ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्नेछ । सो कम्पनीको बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ ।
६० लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको रिलायबल लाइफ इन्स्योरेन्स कम्पनीले १ सय १२ प्रिमियम थप गरी प्रतिकित्ता २ सय १२ मा आईपीओ निष्कासन गर्न लागेको हो । रिलायबलको बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट रहेको छ ।
२५ वटा कम्पनीको आईपीओ कहिलेबाट जारी हुने भन्ने निक्र्योल भइसकेको छैन । धितोपत्र बोर्डमा निवेदन दिएपछि बोर्डले अध्ययन गर्ने, कागजात माग्दै कमेन्ट पठाउने काम गरिरहेको छ ।
सबै प्रक्रिया पूरा भएपछि धितोपत्र बोर्डले स्वीकृति दिई आईपीओ निष्कासनको प्रारम्भिक मिति तय गर्नेछ । पाइपलाइनमा रहेका कम्पनीमा सयपत्री हाइड्रोपावर, इमर्जिङ नेपाल, मोलुङ हाइड्रोपावर, रिलायबल लाइप इन्स्योन्स, थ्री स्टार हाइड्रोपावर, राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सन, स्वेतगंगा हाइड्रो, मन्दाकिनी हाइड्रो र सिकिज हाइड्रोको प्रारम्भिक समीक्षा भइरहेको सेबोनले जनाएको छ ।
यसैगरी, डिस मिडिया, आईएमई लाइफ इन्स्योरेन्स, उपकार लघुवित्त, रिभर फल्स पावरको समीक्षा सकी कमेन्ट पठाइसकेको धितोपत्र बोर्डले उल्लेख गरेको छ ।
त्यस्तै, समीक्षाको अन्तिम चरणमा रहेका कम्पनीमा विन्ध्यबासिनी हाइड्रो, हिमालयन हाइड्रो, बलेफी हाइड्रो, ग्रिन भेन्चर, नेस्डो समृद्ध लघुवित्त, डोर्डीखोला जलविद्युत्, अपर सोलु हाइड्रो, अपर हेवाखोला हाइड्रो, जल्पा सामुदायिक लघुवित्त र राष्ट्रउत्थान लघुवित्त रहेका छन् ।
दोस्रो बजारमा हुने उतारचढाव र आईपीओ परे छोटो समयमा नै सेयर सूचीकृत भई दोस्रो बजारमा कारोबार सुरु हुने अनि नपरे ब्याज पनि पाइने भएकाले लगानीकर्ताहरू झन् झन् आकर्षित हुँदै आएका छन् ।
सेयरबजारमा आकर्षण बढेसँगै सेयर कारोबार गर्नका लागि डिम्याट खाता खोल्नेको संख्या ४७ लाख १२ हजार नाघिसकेको छ ।
नेपाल धितोपत्र बोर्डमा अध्यक्ष नभएका कारण अहिले आईपीओ निष्कासनको पाइपलाइन भएता पनि अन्तिम निर्णय दिइसकेको छैन । अध्यक्ष नियुक्तिसँगै यो आर्थिक वर्षमा २५ वटामध्ये अधिकांशको प्रारम्भिक सेयर निष्कासन हुने बताइएको छ ।
यसैगरी, हकप्रदको पाइपलाइनमा रहेका सातवटा कम्पनीमा अपी पावर, नेपाल फाइनान्स, छ्याङ्डी हाइड्रो, कर्पोरेट डेभलपमेन्ट बैंक, समृद्धि फाइनान्स, शिखर इन्स्योरेन्स र आईएमई जनरल इन्स्योरेन्स रहेका छन् ।
जसमध्यै शिखर इन्स्योरेन्सले १०M३ अनुपातमा कुल ५२ लाख ७५ हजार ५ सय ७२ कित्ता हकप्रद निष्कासन गर्नेछ ।
यसैगरी, आईएमई जनरल इन्स्योरेन्सले १०M४ अनुपातमा हकप्रद निष्कासनको अनुमति मागेको छ । अनुमति पाएमा यो कम्पनीले १०० अंकित दरका कुल ४६ लाख ३० हजार ३ सय ४४ कित्ता हकप्रद निष्कासन गर्नेछ ।
कर्पोरेट डेभलपमेन्ट बैंकले पनि ११.५ प्रतिशतमा कुल ३० लाख कित्ता हकप्रद निष्कासन गर्ने तयारी गरेको छ । समृद्धि फाइनान्सले २M१ अनुपातमा २७ लाख २९ हजार ७ सय ५ कित्ता हकप्रद निष्कासनको तयारी गरेको धितोपत्र बोर्डले जनाएको छ ।
नेपाल फाइनान्सले पनि १M०=७ अनुपातमा १०० रुपैयाँ अंकित दरका कुल ३४ लाख ५४ हजार ४ सय ७४ कित्ता हकप्रद निष्कासनका निवेदन दिएको छ ।
अपी पावरले भने १M०=३९ अनुपातमा १ करोड ८ लाख ६० हजार कित्ता हकप्रद बाँड्दै छ । छ्याङडी हाइड्रोपावरले १०M३ अनुपातमा ८ लाख ९३ हजार २५ कित्ता हकप्रद निष्कासन गर्न अनुमति मागेको छ ।