२०८३ बैशाख ६ गते , आईतबार

आजबाट राप्रपाको एकता महाधिवेशन शुरुहुँदै

अध्यक्षमा लिङ्देन र थापाबीच प्रतिष्पर्धा हुने

sajilo news
परिवेश मिडिया
२०७८ मंसीर १५ गते , बुधबार
आजबाट राप्रपाको एकता महाधिवेशन शुरुहुँदै

बिर्तामोड । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महाधिवेशन आजदेखि काठमाण्डौँमा शुरु हुँदैछ ।  राप्रपा र राप्रपा संयुक्तको दुई वर्षअघि एकता भएपछि आजदेखि काठमाडौंमा एकता महाधिवेशन हुन लागेको हो

वर्तमान अध्यक्ष कमल थापा र नेता राजेन्द्र लिङ्देनले अध्यक्षमा उम्मेदवारी घोषणा गरिसकेका छन । १ सय ९९ केन्द्रीय कार्यसमितिमध्ये १ सय ४९ जना निर्वाचनबाट चुनिने गरी विधान संशोधन गरी राप्रपाले निर्वाचन गराउन लागेको हो। ५० जना अध्यक्षले मनोनीत गर्न पाउनेछन्। अध्यक्षमा सर्वसम्मत गराउन पहल भए पनि अध्यक्षसहित दुई प्यानल नै निर्वाचनमा प्रतिस्पर्धा गर्न चाहेका छन्। लिङ्देनको समूहबाट महामन्त्रीमा धवलशमशेर राणाले उम्मेदवारी घोषणा गरिसके पनि थापा समूहबाट महामन्त्रीको उम्मेदवार घोषणा भएको छैन। अध्यक्षबाहेक पदाधिकारी र केन्द्रीय सदस्यको निर्वाचन विद्युतीय मतदानबाट हुने भएको छ। अध्यक्षका लागि भने मतपत्रमै मतदानको व्यवस्था हुनेछ

महाधिवेशनबाट पदाधिकारीमा अध्यक्ष, एक महिलासहित तीन उपाध्यक्ष, एक महिलासहित तीन महामन्त्री चयन गर्ने गरी विधान संशोधन गर्न लागिएको छ। निर्वाचनबाट चुनिने १ सय ४९ पदाधिकारी र सदस्यमध्ये ३३ प्रतिशत अर्थात् ४९ जना महिला केन्द्रीय समितिमा रहनेछन्। महिलामा पनि दुई पदाधिकारी र ४७ जना सदस्य मतदानबाटै छानिने प्रस्ताव विधानमा राखिएको छ। ‘मतदान हुने स्थिति भएपछि सम्पूर्ण तयारी पूरा भएको छ,’ महाधिवेशन व्यवस्थापनमा खटिएका नेता ध्रुवबहादुर प्रधानले भने, ‘अध्यक्षको मतपत्रमा छाप लगाउनुपर्ने र अरूको विद्युतीय मतदान गर्ने व्यवस्था मिलाएका छौं।’

एमालेको १० औं महाधिवेशनमा प्रयोग भएको विद्युतीय मेसिन नै प्रयोग गरिने उनले बताए। उनका अनुसार महाधिवेशन स्थल काठमाडौंको भृकुटीमण्डपमा सम्पूर्ण तयारी भइसकेको छ

महाधिवेशनमा ४ हजार ५ सय ६० प्रतिनिधिको सहभागिता रहनेछ। संघीय संरचनाअनुसार गाउँपालिका, नगरपालिका, जिल्ला, प्रदेशबाट छनोट भएका प्रतिनिधि महाधिवेशनमा आउनेछन्। ३ सय ३० प्रदेश निर्वाचन क्षेत्रबाट मात्रै २ हजार ९ सयभन्दा बढी प्रतिनिधि सहभागी हुने प्रधानले जानकारी दिए। एउटा प्रदेश निर्वाचन क्षेत्रबाट कम्तीमा ९ जना प्रतिनिधि हुनेछन्। यसबाहेक गाउँपालिका, नगरपालिका, जिल्ला र प्रदेश अध्यक्षहरू पनि प्रतिनिधिको रूपमा आउनेछन्। तीन दिनसम्म चल्ने महाविधेशनको पहिलो दिन उद्घाटन सत्र सकिएलगत्तै बन्दसत्र गर्ने तालिका छ

निर्वाचनको प्रक्रिया भने बिहीबारबाट मात्रै सुरु हुनेछ। मतदाताको नामावली बुधबार नै महाधिवेशन स्थलमा टाँस्ने व्यवस्था मिलाइने महाधिवेशन व्यवस्थापन समितिले जनाएको छ। बन्दसत्रमा अध्यक्ष थापाले राजनीतिक, पशुपतिशमशेर जबराले सामाजिक र प्रकाशचन्द्र लोहनीले आर्थिक कार्यपत्र पेस गर्नेछन्

त्यस्तै विधान संशोधन सुझाव समितिका संयोजक नीरञ्जन थापाले कार्य सम्पादन समितिको बैठकबाट अनुमोदन गरिएको विधान संशोधनको मस्यौदा बन्द सत्रमा पेस गर्नेछन्। ‘पहिलो दिन विधान संशोधन गरेर बिहीबारदेखि निर्वाचनको प्रक्रिया सुरु हुन्छ,’ महाधिवेशन प्रचार समितिका संयोजक मोहन श्रेष्ठले भने। उद्घाटन सत्रमा प्रधानमन्त्री शेरबहादुर देउवाका साथै अन्य पार्टीका नेताहरू पनि आउने आयोजकले जनाएको छ

राप्रपा अध्यक्षमा लिङ्देनलाई अध्यक्षद्वय राणा र लोहनीको समर्थन

सम्बन्धित समाचार