माओवादी केन्द्र बिर्तामोड नगर अध्यक्षमा तीन जना आकांक्षी
दोश्रो नगर अधिवेशन मंसिर १६ गते हुने
बिर्तामोड । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बिर्तामोडको दोस्रो नगर अधिवेशन मंसिर १६ गते हुने भएको छ । मंगलबार बिर्तामोडमा पत्रकार भेटघाटको आयोजना गरी अधिवेशनबारे पार्टीले जानकारी दिएको हो ।
नगर अध्यक्षका लागि तीन जना आकांक्षी रहेका छन । युवराज दाहालले नगर अध्यक्षका लागि दावी गर्दै आएका छन । दाहाल पार्टीको नगर इञ्चार्ज हुन । त्यस्तै, अर्का आकांक्षी मोहन सुब्बा रहेका छन । सुब्बा वर्तमान नगर संयोजक हुन । सुब्बाले आफू नगर संयोजक भएकाले अध्यक्ष पदको दावेदार भएको बताए । त्यस्तै पार्टीका जिल्ला सदस्य एवम् पूर्व नगर अध्यक्ष ठगबहादुर खड्कापनि अध्यक्षको आकांक्षी रहेको बताइएको छ । खड्काले अध्यक्षका लागि निकटका नेताहरुसँग छलफल चलाएको स्रोतको दाबी छ ।
अधिवेशन बिर्तामोड ३ स्थित पार्टीको जिल्ला कार्यालय रहेको गौरीशंकर स्मृति प्रतिष्ठानको सभाहलमा हुने नगर संयोजक मोहन सुब्बाले जानकारी दिए । कार्यक्रममा नगरका २०० जना प्रतिनिधी, ५० जना पर्यवेक्षक र १०० जना स्वयम् सेवकको उपस्थिती रहने जानकारी दिइयो ।
अधिवेशन सम्पन्न गर्न पार्टीले विभिन्न १० उपसमिति निर्माण गरेको नगर इन्चार्ज युवराज दाहालले जानकारी दिए । दाहालका अनुसार जनपरिचालनमा युवराज दाहाल, प्रचारप्रसारमा बासु दुलाल, स्वयमसेवकमा जेबी जबेगु, अभिलेख तथा माइन्युट लेखनमा शिखर कडरिया, मञ्च व्यवस्थापन तथा सजावटमा मोहन सुब्बा संयोजक रहेका छन । त्यस्तै सहिद, बेपत्ता तथा घाइते सम्मानमा पूजा खनाल, आर्थिक व्यवस्थापनमा कुवेर (अरुण) श्रेष्ठ, प्रतिवेदन लेखनमा युवराज दाहाल र प्रतिनिधि व्यवस्थापन उपसमिति संयोजकमा सन्दिप प्रसाई रहेका छन् ।
अधिवेशनमा पार्टीका केन्द्रीय सदस्य, प्रदेश १ इन्चार्ज तथा प्रतिनिधिसभा सदस्य राम कार्की (पार्थ) प्रमुख अतिथि तथा पार्टीका प्रदेश नं. १ सहइन्चार्ज तथा झापा इन्चार्ज एवम् प्रतिनिधिसभा सदस्य धर्मशीला चापागाई विशिष्ठ अतिथिको रुपमा उपस्थित हुने बताइएको छ ।
पार्टीले सहमतिकै आधारमा पालिका नेतृत्व चयन गर्दै आएको छ । बिर्तामोडमा पनि सहमतिकै आधारमा नेतृत्व चयन गरिने नेताहरुले बताउँदै आएका छन् । बिर्तामोडमा एकहजार ५ सय माओवादी केन्द्रको पार्टी सदस्य रहेको बताइएको छ ।
यस अघि झापाका अधिकांश पालिकाहरुको अधिवेशन सम्पन्न भई सकेका छन ।