राप्रपा अध्यक्षमा लिङ्देनलाई अध्यक्षद्वय राणा र लोहनीको समर्थन
बिर्तामोड । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्षद्वय प्रकाशचन्द्र लोहनी र पशुपतिशमशेर राणाले आगामी महाधिवेशनमा युवा नेता राजेन्द्र लिङ्देनलाई अध्यक्षमा समर्थन गर्ने भएका छन् ।
पार्टीको महाधिवेशनमा अध्यक्ष पदका लागि उम्मेदवारी दिएका लिङ्देनको पक्षमा समर्थन बढिरहेका बेला लोहनी यो निर्णयमा पुगेका हुन् ।
राप्रपाका अध्यक्षत्रयमध्ये कमल थापाले सोमबार आफ्नो उम्मेदवारी घोषणा गरेका छन । दुई अध्यक्ष पशुपतिशमशेर राणा र लोहनीले उम्मेदवारी नदिने र लिङदेनलाई सघाउने भएका हुन् ।
लोहनीले आज होटल एल्लो प्यागोडाबाट लिङ्देनलाई समर्थन गर्नेबारे कारणसहित सम्बोधन गर्ने कार्यक्रम राखिएको छ । त्यस कार्यक्रममा लोहनीले आफ्नो र राप्रपा पार्टी पंक्तिलाई लिङ्देनलाई समर्थन गर्न आफूले अपील गर्ने बताए ।
…म कारणसहित लिङ्देनजीलाई समर्थन गर्दैछु, उहाँलाई भोट दिन अपील पनि गर्नेछु,’ लोहनीले भने ।
लिङ्देनलाई समर्थन गर्नेबारेमा कारण पनि उनले उल्लेख गरे । उनका अनुसार राणा र थापाले लामो समयसम्म पार्टी नेतृत्व चलाए । एक पटक आफूलाई दिन लोहनीले अनुरोध गरेका थिए ।
…यदि मलाई समर्थन नगर्ने भए हामी तीनै जना अभिभावकीय रूपमा रहेर युवा नेतृत्व पंक्तिलाई पार्टी चलाउन दिऔं भन्ने मेरो प्रस्ताव थियो,’ उनले भने, …त्यसमा सहमति नजुटेकाले मैले आफ्नो समर्थन लिङ्देनलाई गरेको हुँ ।’
यता, अध्यक्ष पशुपतिशमशेर राणालाई पनि लिङ्देनलाई समर्थन गर्न दबाब छ । राणा पक्षधर सबै नेताहरूले लिङ्देनलाई समर्थन गर्ने भइसकेको अवस्थामा राणालाई पनि समर्थन गर्नुपर्ने नैतिक दबाब बढेको हो ।
राणा अहिले स्पष्ट नखुलेको भएपनि उनको समर्थन लिङ्देनलाई रहेको बताइएको छ ।
सोमबारै राणा पक्षधरहरूको तीनकुनेमा भएको भेलाले लिङ्देनको पक्षमा खुल्नेबारे छलफल गरेको थियो ।
लिङ्देनले राप्रपामा अध्यक्ष पदमा उम्मेदवारी उठ्ने घोषणा गरिसकेका छन् । राप्रपाका अध्यक्षत्रयमध्ये राणाले नेतृत्वमा दाबी छोडेको उनीनिकट नेता सगुनसुन्दर लावतीले बताए । …सकभर सर्वसम्मत नेतृत्व चुनियोस् भनेर उहाँले दाबेदारी छोड्नुभएको हो,’ लावतीले भने ।
लावती राणा पहिले अध्यक्ष रहेको राप्रपाका प्रवक्ता थिए । उनले आफ्नो समर्थन पनि लिङ्देनको पक्षमा रहेको बताए । …पार्टीलाई चलायमान र जनताले विश्वास गर्ने बनाउन, हिन्दु राष्ट्र राजासहितको प्रजातन्त्र स्थापना गर्न पुरानो पुस्ताले अभिभावकीय भूमिका खेल्नुपर्छ, उहाँहरूले नयाँ पुस्तालाई साथ दिनुपर्छ,’ लावतीले भने ।
राप्रपको मंसिर १५,१६ र १७ गते महाधिवेशन गर्ने तय भएको छ ।