कोरोनाको नयाँ भेरिएन्ट ‘ओमिक्रोन’ फेला, डब्ल्युएचओद्वारा नेपाललाई सतर्कता अपनाउन सुझाव
काठमाडौं । दक्षिण अफ्रिकामा कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ फेला परेपछि अहिले संसारभर यसले भयको नयाँ तरङ्ग सिर्जना गरेको छ । नयाँ भेरियन्ट तीब्र गतिमा फैलिएसँगै विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले नेपाललाई उच्च सतर्कता अपनाउन सुझाव दिएको छ ।
विश्व स्वास्थ्य संगठन ९डब्ल्यूएचओ० ले पनि दक्षिण अफ्रिका र बोत्सवानामा तीव्र गतिमा फैलिरहेको यो नयाँ भेरियन्टका सम्बन्धमा उल्लेख गरेको छ । लन्डनस्थित यूसीएल जेनेटिक्स इन्स्टिट्युटका निर्देशक फ्रेन्कोइस बोलौक्सले साइन्स मिडिया सेन्टरद्वारा प्रकाशित एक सूचना सामग्रीमा भनेका छन । बी.1.1529 नामक यो नयाँ भेरियन्ट असामान्य रूपले ठूलो संख्यामा म्युटेसन हुन्छ ।
यो भेरियन्टबारे गरिएको एक अनुमानअनुसार यो उपचार नभएको कुनै एचआईभीरएड्सको रोगीबाट विकसित भएको हुन सक्छ । फ्रेन्कोइसका अनुसार यो पुरानै संक्रमणका बेला विकसित भएको हो । यो नयाँ भेरियन्टको संक्रमण कति तीव्रताका साथ कति फैलन्छ भन्ने कुरा केही समय यसको सूक्ष्म निगरानी र विश्लेषण गरेपछि मात्र थाहा हुने बताइएको छ ।
कोरोनाको यो नयाँ भेरियन्टसम्बन्धी समाचार सार्वजनिक भएपछि संसारका विभिन्न देशले सावधानीका थप उपाय अपनाउन थालेका छन । यस क्रममा स्थानीय निकायहरुलाई अलर्ट रहन भनिएको छ भने विमानस्थलहरुमा कडाइ गर्दै निगरानी बढाइन थालेको छ । विश्व स्वास्थ्य संगठनले ओमिक्रोन पत्ता लागेसँगै नेपाललगायत दक्षिण–पूर्वी एसियाका देशहरुलाई उच्च सतर्कता अपनाउन सुझाव दिएको छ ।
विश्व स्वास्थ्य संगठनको दक्षिण–पूर्वी एसिया हेर्ने क्षेत्रीय कार्यालयले एक प्रेस विज्ञप्ती जारी गर्दै सबै देशहरूले सर्भेलेन्स, जनस्वास्थ्यका मापदण्ड, सामाजिक दूरीका साथै खोप कार्यक्रमलाई बढावा दिनुपर्ने बताएको छ ।
‘यस क्षेत्रका अधिकांश देशहरुमा कोभिड–१९ संक्रमितहरुको संख्या तुलनात्मक रुपमा कम हुँदै गएपनि विश्वका केही देशमा नयाँ भेरियन्ट फेला परेको छ । यसले अझैपनि संक्रमणको जोखिम पूर्णरुपमा हटिसकेको छैन र यसलाई नियन्त्रण गर्न हामीले हाम्रो सतप्रतिशत दिन जरुरी छ,’ डब्लूएचओकी क्षेत्रीय निर्देशक डा. पुनम क्षेत्रपाल सिंहले भनिन् ।
विज्ञप्तीमा दक्षिण–पूर्वी एसियाका सबै देशहरुले सर्भेलेन्सका साथै सिक्वेन्सिङमा पनि जोड दिनुपर्ने बताइएको छ । यस्तै, सबैले अन्य देशबाट आफ्नो देशमा नयाँ भेरियन्टलाई भित्रिन नदिनका लागि अन्तर्राष्ट्रिय यात्रा गर्नेहरु माथि थप निगरानीका साथै नियन्त्रणका उचित उपायहरु उपनाउन समेत सुझाव दिएको छ ।
‘जति छिटो संक्रमण नियन्त्रणका उपायहरु अवलम्बन गरिन्छ त्यति नै क्षति कम गर्न मद्दत पुग्छ । कोभिड–१९ गराउने भाइरस जति धेरै फैलिन्छ त्यति नै त्यसमा उत्परिवर्तन देखिन्छ र नियन्त्रण गर्न कठिन हुन्छ,’ क्षेत्रीय निर्देशक सिंहले विज्ञप्तीमा भनेकी छन ।
अफ्रिकी नागरिकलाई नेपाल प्रवेशमा रोक
कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोनबाट संक्रमित भएकाहरु दक्षिण अफ्रिकी मुलुकसँगै युरोपका केही देशका सँगै विश्वका विभिन्न मुलुकमा भेटिन थालेपछि नेपालले अफ्रिकी नागरिकलाई अर्को व्यवस्था नभएसम्म प्रवेश गर्न नदिने भएको छ ।
गृह मन्त्रालयले अध्यागमन विभाग, त्रिभुवन विमानस्थल कार्यालय र सीमा क्षेत्रका प्रशासन कार्यालयलाई अफ्रिकी देशका नागरिकहरुलाई प्रवेश गर्न नदिने व्यवस्था मिलाउने आइतबार निर्देशन दिएको छ । गृह प्रवक्ता फणीन्द्रमणि पोखरेलका अनुसार आइतबार मन्त्रालयले निर्देशन दिँदै कूटनीतिक, अफिसियल र आपतकालीन कामबाहेक सबै अफ्रिकी देशका नागरिकलाई अर्को व्यवस्था नभएसम्मका लागि नेपाल प्रवेशमा रोक लगाइएको हो ।
गृह मन्त्रालयको निर्णय कार्यान्वयनका लागि अध्यागमन विभागले समेत आफू मातहतका अध्यागमन कार्यालयहरुलाई परिपत्र गरिसकेको छ । यस्तै अफ्रिकी देश हुँदै यात्रा गरेका अन्य देशका नागरिकलाई समेत कोरोना परीक्षणको रिपोर्ट र औचित्यका आधारमा मात्रै आवश्यक निर्णय लिन निर्देशन दिइएको प्रवक्ता पोखरेलले स्पष्ट पारे ।
कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोनबाट संक्रमित भएकाहरु दक्षिण अफ्रिकी मुलुकसँगै युरोप र विश्वका अन्य केही देशमा पनि भेटिन थालेसँगै विभिन्न मुलुकहरुले नियन्त्रण तथा रोकथामका लागि कडा निर्णयहरु लिन थालेका छन् । इजरायलले १४ दिनका लागि विदेशीहरुलाई आफ्नो देशमा प्रवेश गर्न प्रतिबन्ध लगाएको छ भने यूरोपका अधिकांश देशले अफ्रिकी मुलुकबाट हुने हवाईयात्रा माथि प्रतिबन्ध लगाएको छ ।