झापाको गाउँ तथा नगरपालिकामा मतदाता नामावली संकलन शुरु हुँदै (तालिका सहित)
बिर्तामोड । निर्वाचनको समय नजिकिएसँगै फोटो सहितको मतदाता नामावली संकलन शुरु हुन लागेको छ । मंसिर १७ गतेदेखि झापाका गाउँ तथा नगरपालिका कार्यालयबाट नामावली संकलन शुरु हुन लागेको हो ।
आगामी मंसिर १७ गतेदेखि दुई चरणमा नामावली संकलन गर्न लागिएको जिल्ला निर्वाचन कार्यालय झापाका प्रमुख तुलसीकुमार नेपालले जानकारी दिए । पहिलो चरणअन्तर्गत बिर्तामोड, अर्जुनधारा, हल्दिबारी, कमल, शिवसताक्षी र कनकाईमा मंसिर १७ गतेदेखि पुष २ गतेसम्म र दोस्रो चरणमा मेचीनगर, बुद्धशान्ति, कचनकवल, गौरादह, झापा र बाह्रदशीमा पुष ४ गतेदेखि १८ गतेसम्म नामावली संकलन हुनेछ । अन्य तीन पालिकाहरु गौरीगञ्ज र दमकका नागरिकहरुले सोहि पालिकामा भएको क्षेत्रीय प्रशासन र भद्रपुरका नागरिकहरुले जिल्ला प्रशासन कार्यालयबाट नामावली संकलन गराउन सक्ने बताइएको छ ।

नामावली संकलन तालिका
आफ्नो पालिकामा तोकिएको समयमा नामावली संकलनका लागि नभ्याउनेहरुले जिल्ला निर्वाचन कार्यालयमा गएर नाम दर्ता गराउन सकिने छ ।
२०६८ यता २०७४ सम्म रंगीन फोटोसहितको मतदाता परिचय पत्र भएकाहरुले पुनः नामावली संकलन गर्नु नपर्ने नेपालले बताए । तर, २०६८ अगाडीको अस्थायी मतदाता परिचय पत्र भएकाहरुले भने पुनः नामावली दर्ता गर्नुपर्ने उनले जानकारी दिए ।
आफ्नो स्थायी बसोबास भएको भन्दा फरक जिल्लामा अस्थायी बसोबास गर्नेहरुले सोहि जिल्लाको जिल्ला निर्वाचन कार्यालयमा नागरिकताको प्रमाण पत्र लिएर गए सोहि स्थानबाट बाहिरी जिल्ला दर्ता -ओडीआर_ अन्तर्गत नामावली संकलन गराउन सकिने जिनिअ नेपालले जानकारी दिए । तर, नेपालबाहिर रहेकाहरुले मतदाता नामावली संकलनका लागि भने स्वदेश नै आउनुपर्ने उनले बताए । यस अघि मतदाता नामावली दर्ता भएको स्थानबाट अन्यत्र जिल्लामा स्थायी बसोबासका लागि बसाईसराइ गइसकेकाहरुले बसाईसराईको प्रमाणपत्र सहित पहिलाको निर्वाचन कार्यालयमा गएर हालको जिल्लामा नामावली सार्न सकिने नेपालले बताए ।
हाल झापामा ६ लाख ९ हजार ३१४ जनाको मतदाता नामावली सुचिकृत छ । यस पटकको गणनाबाट ३५ हजार मतदाता थपहुन सक्ने अनुमान गरिएको प्रजिअ एवम जिल्ला कार्यक्रम व्यवस्थापन तथा अनुगमन समिति संयोजक श्रवणकुमार तिमिल्सिनाले जानकारी दिए । नामावली संकलन बायोमेट्रिक हुने भएकाले दुरुपयोग नहुने उनले बताए । जनताले आफ्ना शासक छान्न पाउने कार्यको शुरुवाती चरण नामावली संकलनबाट हुने भएकाले प्रजिअ तिमिल्सिनाले झापाका ३२ वटै राजनीतिक दलका नेताहरुलाई सबै नागरिकलाई यस कार्यमा सहभागी गराईदिन अपिल गरे ।
प्रजिअ तिमिल्सिनाको अध्यक्षतामा आइतबार जिल्ला प्रशासन कार्यालय झापामा भएको अन्तरक्रिया कार्यक्रममा जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख सानुराम भट्टराई, सशस्त्र प्रहरी बल नम्बर २ गण झापाका प्रमुख एसपी रमेशकुमार पाण्डे, अनुसन्धान अधिकृत तिलकप्रसाद प्रसाई, सहायक प्रजिअ रुद्रप्रसाद न्यौपाने लगायत राजनीतिक दलका प्रतिनिधी र सञ्चारकर्मीहरुको उपस्थिती रहेको थियो ।