बिर्तामोडको कञ्चनजंघा इन्स्टिच्युट अफ हेल्थ साइन्सले पिसिएल भर्ना अनुमति पाएन
बिर्तामोड । झापाको बिर्तामोडस्थित कञ्चनजंघा इन्स्टिच्युट अफ हेल्थ साइन्सले यो बर्ष पिसिएल नर्सिङमा भर्ना लिन नपाउने भएको छ । चिकित्सा शिक्षा ऐन २०७५ अनुसारको मापदण्ड नपुगेका कारण कलेजले भर्ना अनुमति नपाएको हो ।
गत वर्षसम्म प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) अन्तर्गत ११२ वटा नर्सिङ कलेजले प्रमाणपत्र तह (पिसिएल) नर्सिङ अध्ययन गराउँदै आएका थिए । तर, यस वर्ष भने ४५ वटा कलेजले मात्र विद्यार्थी भर्नाका लागि अनुमति पाएका छन् । चिकित्सा शिक्षा ऐन २०७५ को मापदण्ड अनुसार आफ्नै एक सय शय्याको अस्पताल नभएका तथा मापदण्ड नपुगेका र आफ्नै अस्पताल भएर पनि स्नातक तहका कार्यक्रम चलाएका कारण मापदण्ड अनुसार शय्या नपुग्दा ६७ वटा कलेजले विद्यार्थी भर्नाका लागि सिट नपाएका हुन ।
चकित्सा शिक्षा ऐन अनुसार मापदण्ड नपुगेका कलेजको संख्या धेरै भएपछि लामो समयदेखि नर्सिङ भर्नाको कार्यक्रम नै अगाडि बढ्न सकेको थिएन । ऐन विपरित सबै नर्सिङ कलेजलाई विद्यार्थी भर्नाको अनुमति दिनुपर्ने खेल पनि सुरु भएको थियो । तर त्यसको विरोध भएपछि सिटिइभिटीले अन्ततः मापदण्ड पुगेका ४५ वटा कलेजलाई मात्र विद्यार्थी भर्नाका लागि सिट तोकेको छ । कञ्चनजंघा इन्स्टिच्युट अफ हेल्थ साइन्ससँगै प्रदेश १ को उर्लाबारीको मदन भण्डारी मेमोरियल एकेडेमी नेपाल र इटहरीको पिपुल्स मल्टिपल हेल्थ इन्स्टिच्युटले पनि भर्ना अनुमति पाएनन् ।