कन्काई प्लाई फ्याक्ट्रीमा आगलागी, ५ करोड बढी क्षति भएको अनुमान
बिर्तामोड । झापाको बिर्तामोड २ स्थित कन्काई प्लाई फ्याक्ट्रीमा आगलागी भएको छ । सोमबार विहान २ बजेको समयमा विद्युत सर्ट भइ आगलागी भएको हुनसक्ने प्रहरीले जनाएको छ ।
आगो नियन्त्रणका लागि बिर्तामोड, मेचीनगर, भद्रपुर, दमक, कमल, उर्लाबारी र गौरादहको दमकलले प्रयास गरिरहेको इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख सन्तोष आचार्यले जानकारी दिए । दमकलसँगै नेपाल प्रहरी, सशस्त्र प्रहरी , नेपाली सेना र स्थानीय आगलागी नियन्त्रणमा लागिरहेको उनले बताए । फ्याक्ट्रीमा कच्चा पदार्थ धेरै भएका कारण आगो पूर्ण नियन्त्रणमा आइनसकेको फ्याक्ट्री सञ्चालक दुर्गा भण्डारीले बताए । यो समाचार तयार पार्दासम्म आगो पूर्ण नियन्त्रणमा आइनसकेको र अझै १/२ घण्टा लाग्न सक्ने बताईएको छ ।
प्लाईका लागि चाइनाबाट आयात गरिएको महंगो मुल्यका कच्चा पदार्थ धेरै भएका कारण करिब ५ करोड बढीको क्षति भएको हुनसक्ने सञ्चालक भण्डारीको भनाई छ । आगलागीबाट मानवीय क्षति भने नभएको जनाइएको छ ।