२०८३ बैशाख ६ गते , आईतबार

झापा कांग्रेसको सहमति मै ‘असहमति’

sajilo news
परिवेश मिडिया
२०७८ मंसीर ४ गते , शनिबार
झापा कांग्रेसको सहमति मै ‘असहमति’

बिर्तामोड । नेपालको राजनीतिमा महत्वपूर्ण जिल्लाको रुपमा हेरिएको झापामा जिल्ला सभापति पदका लागि दुई जना आकांक्षी प्रतिष्पर्धामा होमिएका छन् । पार्टीको आसन्न जिल्ला अधिवेशनबाट आफुलाई विजयी गराउन देउमान थेबे र रामबहादुर कट्टेल यतिबेला मतदाताबिच पुगिरहेका छन् ।

१३औँ राष्ट्रिय महाधिवेशनका बखत पार्टी नेतृत्वले गरेको ९ बुँदे सहमतिमा थेवे र कट्टेल पक्षबिच ‘असहमति देखिएको छ । थेवे पक्षका नेताहरुले १४औँ महाधिवेशनबाट  देउमान थेबेलाई सभापति बनाउने सहमति भएको जिकिर गर्दै आएको छ भने कट्टेल पक्षका नेताहरु भने कसैलाई सभापति बनाउने सहमति नभएको खण्डन गर्दै आएको छ । कांग्रेस नेता केशवकुमार बुढाथोकीले देउमान थेवे समर्थित कार्यकर्ताहरुलाई सम्बोधन गर्दै आफू समेत साक्षी बसेर यो महाधिवेशनबाट देउमान थेबेलाई सभापति बनाउने सहमति भएको बताएसँगै नेतृत्वबिच विभाजन शुरु भएको थियो । थेबेलाई समर्थन गर्दै बुढाथोकीले सार्वजनिक रुपमै सहमति भएको खुलासा गरेपछि राम कट्टेल जिताउ अभियानको सचिवालयले पत्रकार सम्मेलन नै गरेर अघिल्लो महाधिवेशनमा भएको ९ बुँदे लिखित सहमति सार्वजनिक गर्यो । लिखित सहमति सार्वजनिक भएपछि थेवे पक्षका नेताहरुले शाब्दिक रुपमा थेवेलाई सभापति बनाउने उल्लेख नगरिएपनि नेताहरुबिच भद्र सहमति भएको बताउँदै आएको छ । नेताहरु सुधिरकुमार शिवाकोटी, डिल्ली सिटौला, विश्वप्रकाश शर्मा र गोपालकुमार बस्नेतले हस्ताक्षर गरेको ९ बुँदे सहमतिमा थेबेले जिल्ला सभापति पदमा सर्वसम्मत गराउन गरेको त्यागलाई उच्च मुल्याङ्कन गर्दै उहाँको राजनैतिक भुमिकालाई सम्बर्धन गर्ने उल्लेख गरिएको छ । यहि बुँदालाई लिएर दुईपक्ष बिच आआफ्नो व्याख्या र मतभेद देखिँदै आएको छ । 

सभापतिका उम्मेदवार कट्टेल नेपाली कांग्रेस झापाको वर्तमान उपसभापति हुन देउमान थेबे पूर्वउपसभापति हुन । दुवै उम्मेदवारलाई जिताउन केन्द्रीय तथा स्थानीय नेता कार्यकर्ता दुई खेमामा विभाजित भएका छन । जिताउ अभियानको सचिवालयनै बनाएर अलगअलग प्रचार समिति गठन गरिएका छन । प्रचारप्रसार समितिले गाउँ गाउँमा आफ्ना नीति तथा कार्यक्रम र धारणा कार्यकर्ताहरु माझ लगिरहेका छन ।

यतिबेला झापा कांग्रेस प्रवक्ता तथा युवा नेता विश्वप्रकाश शर्मा र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला नेतृत्वको दुई खेमामा विभाजित बनेको छ । वर्तमान उपसभापति राम कट्टेललाई प्रवक्ता शर्मा र देउमान थेबेलाई पूर्वमहामन्त्री सिटौला र केन्द्रीय नेता बुढाथोकीको समर्थन रहेको कार्यकर्ताहरु बिच चर्चा चल्ने गरेको छ । पूर्वसांसद सुधीरकुमार शिवाकोटी, केशवकुमार बुढाथोकी, सभापति उद्धव थापा, प्रचार विभागका प्रमुख कृष्ण हुमागाई लगायतका नेताहरु थेबे जिताउ अभियानमा लागिपरेका छन । पुष्पराज पौडेलको संयोजकत्वमा संविधान सभा सदस्य उषा गुरुङ, सचिव प्रेम सम्बाहाम्फे, प्रवक्ता लोकराज ढकाल, तेजप्रसाद चौलागाइ लगायतका जिल्ला नेताहरु राम कट्टेल जिताउ अभियानमा संलग्न छन ।

सम्बन्धित समाचार