आजदेखि ई–पासपोर्ट जारी हुँदै, एकै दिनमा बनाउन सकिने
काठमाण्डौ । आजदेखि राहदानी विभागले विद्युतीय राहदानी (ई–पासपोर्ट) जारी गर्ने भएको छ । एमआरपी विस्थापन गरी विद्युतीय राहदानी जारी गर्न लागिएको हो ।
परराष्ट्रमन्त्री डा. नारायण खड्काले आज अपरान्ह राहदानी विभागको त्रिपुरेश्वरस्थित कार्यालयबाट औपचारिक रूपमा विद्युतीय राहदानी जारी बताइएको छ । शुरुमा दैनिक सीमित संख्यामा मात्र ई–पासपोर्ट वितरण गरिने भए तापनि एक साताभित्रै पूर्ण रूपमा वितरण थालिने विभागले जनाएको छ । सेवाग्राहीले ई–पासपोर्ट एकै दिनमा पाउनेछन ।
समय बुक गरेर र घरबाटै दस्तुर तिरेर आउन सकिने भएकाले राहदानी लिन लाइन बस्ने झन्झटबाट सेवाग्राहीले छुटकारा पाउनेछन । ई–पासपोर्ट जारी भए तापनि तत्कालै ई–पासपोर्ट अनिवार्य नगरिने भएकाले आफूसँग भएको एमआरपीले नै काम चलाउन सकिने पनि विभागले जनाएको छ ।
राहदानी विभागले सन २०२० डिसेम्बर २० मा फ्रान्सको आईडीआईएमआईए आइडेन्टी एन्ड सेक्युरिटीसँग २ अर्ब ४८ करोड रुपियाँमा ई–पासपोर्ट छपाइका लागि खरिद सम्झौता गरेको थियो । सम्झौताअनुसार कम्पनीले १० महिनाभित्र ई–पासपोर्ट वितरणको काम सकेको हो ।
ई–पासपोर्ट एमआरपीभन्दा गुणस्तरीय र भरपर्दो हुनुका साथै उच्च प्रविधिको प्रयोगका कारण अन्तर्राष्ट्रिय क्षेत्रमै विश्वासिलो पनि मानिएको छ । यसमा मोबाइलको सिमजस्तै सानो विद्युतीय चिपको प्रयोग हुन्छ । यसमा व्यक्तिगत विवरणसहित बायोमेट्रिक तथ्यांक पनि राखिएको हुन्छ, जसले गर्दा कम्प्युटरले सजिलै पढ्न सक्छ । बायोमेट्रिक तथ्यांकका कारण राहदानीको दुरुपयोग हुने समस्याको समाधान हुने विश्वास गरिएको छ । यसको ‘सेक्युरिटी फिचर’ पनि कडा हुने गर्दछ ।
ई–पासपोर्टका पृष्ठहरूमा नेपालका सम्पदा, संस्कृति, जीवनयापन, वन्यजन्तु र चर्चित ठाउँहरूको तस्बिर राखिएको छ । ६४ पृष्ठको ई–पासपोर्टमा पहिलो र अन्तिम कभरको भित्री पृष्ठमा डाँफे र नेपालको राष्ट्रिय झण्डा हुनेछ ।
त्यसै गरी, पहिलो पृष्ठमा भने सगरमाथा, दोसोमा पोलिकार्बोनेट डाटा, तेस्रोमा लुम्बिनी, चौथो र पाँचौंमा राष्ट्रपति भवन, छैठौं र सातौ पृष्ठमा एकसिंगे गैंडाको तस्वीर रहने बताइएको छ ।
त्यसै गरी, पहिलो पृष्ठमा भने सगरमाथा, दोस्रोमा पोलिकार्बोनेट डाटा, तेस्रोमा लुम्बिनी, चौथो र पाँचौंमा राष्ट्रपति भवन, छैठौं र सातौ पृष्ठमा एकसिंगे गैंडाको तस्वीर रहने बताइएको छ ।