झापामा बन्दको आंशिक प्रभाव, ८ जना बन्दकर्ता पक्राउ
बिर्तामोड । सरकारले पेट्रोलियम पदार्थमा गरेको मुल्यवृद्धिको विरोधमा आज नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको नेपाल बन्दको झापामा आंशिक प्रभाव परेको छ । प्रहरीले सवारीसाधन तथा बजार बन्द गराउँदै हिडेको अवस्थामा ८ जना बन्दकर्तालाई पक्राउ गरेको छ ।
प्रहरीले नेपाल कम्युनिष्ट पार्टीको जिल्ला कमिटी सदस्य तथा बुद्धशान्ति इञ्चार्ज दिनेश निरौलासहित ७ जनालाई बुद्धशान्ति ३ बुधबारेबाट बजार तथा सवारीसाधन बन्द गराउँदै हिडेको अवस्थामा पक्राउ गरेकोे जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक गुरु तिम्सिनाले जानकारी दिए । त्यस्तै प्रहरीले मेचीनगरको इटाभट्टा चोकमा सवारीसाधन सञ्चालनमा अवरोध गर्दै गरेको अवस्थामा अखिल क्रान्तिकारीका १ नम्बर प्रदेश इञ्चार्ज पुष्प न्यौपानेलाई नियन्त्रणमा लिएको उनले बताए । नियन्त्रणमा लिइएकाहरुलाई प्रहरी चौकी वुधबारे र काकरभिट्टामा राखिएको प्रहरीले जनाएको छ ।
झापाबाट लामो दुरीका यातायातका सवारी साधन छुटेनन् भने साना सवारीसाधन समान्य रूपमा चलेका थिए । बजार आंशिक रुपमा खुलेको थियो भने अधिकांश विद्यालयहरु बन्द भएको थियो । सरकारी कार्यालय तथा वित्तीय संस्थाहरु खुलेका थिए । झापाको जनजीवन सामान्य नै रहेको र कुनै अप्रिय घटना नभएको प्रहरी निरीक्षक तिम्सिनाको भनाई छ ।