झापामा बन्दको आंशिक प्रभाव
बिर्तामोड । सरकारले पेट्रोलियम पदार्थमा गरेको मुख्यवृद्धिको विरोधमा नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको आजको नेपालबन्दको झापामा आंशिक प्रभाव परेको छ । पार्टीले मुल्यवृद्धिको विरोध स्वरुप घोषणा गरेको कार्यक्रमअन्तर्गत आज नेपाल बन्दको आह्वान गरेको थियो ।
झापाको दकममा भने बन्दको प्रभाव नदेखिएको प्रहरी नायव उपरिक्षक नवराज कार्कीले जानकारी दिए । सवारी साधन सञ्चालन हुनुका साथै पसलहरु समेत खुलेको उनले बताए । विहानको कलेज जाने विद्यार्थीहरुपनि आउजाउ गरिरहेको उनको भनाई छ ।
बिर्तामोडमा भने बन्दको आंशिक प्रभाव देखिएको छ । सडकमा यात्रुवाहक सवारी कुदेका छैनन भने पसलहरु केहि खुल्ला रहेका छन् । हाइवे आसपासका पसलहरु बन्दभएपनि भित्री बजारका पसलहरु खुल्न थालेको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रमुख सन्तोष आचार्यले जानकारी दिए । ठूला सवारीका साधनहरु नदेखिएपनि साना सवारीसाधन सडकमा गुडिरहेका छन् ।
बिर्तामोडको पश्चिम बसस्टेण्ड
यता काँकरभिट्टामा भने बन्दको पूर्ण प्रभाव परेको छ । यातायातका साधनहरु संचालन भएका छैनन । मुल्यवृद्धिको यातायात मजदुरहरुले समेत विरोध गरेपछि यातायात क्षेत्रमा बढी प्रभाव देखिएको प्रहरी निरीक्षक होम अधिकारीले बताए । उनका अनुसार विहान केहि संख्यामा चोकमा बन्दकर्ता देखिएपनि अहिले उनीहरुको उपस्थिती छैन । देशका अधिकांश स्थानहरुका लागि छुट्ने काकरभिट्टा बसपार्कबाट नै यात्रुबाहक सवारी नछुटेपछि सडकमा बस गुडेको देखिँदैन । काकरभिट्टामा सवारीसाधन सञ्चालन नभएपनि भित्री बजारहरु खुल्न शुरु भएको बताइएको छ ।
पूर्वपश्चिम राजमार्गमा सुरक्षाकर्मीको बाक्लो उपस्थिती देखिएको छ । बिचका बजारहरु धुलाबारी, चारआली, सुरुङ्गा, दुधे, झिलझिले लगायतमा पनि बन्दको सामान्य प्रभाव परेको देखिएको छ । सडकमा बन्दकर्ताको उपस्थिती खासै नदेखिएपनि मुल्यवृद्धिले सबैलाई असर गरेका कारण बन्दप्रति आम मानिसको नैतिक समर्थन हुनसक्ने दमकका प्रविन पराजुलीको भनाई छ ।
सरकारले निरन्तर पेट्रोलियम पदार्थमा गरेको मुल्यवृद्धिको विरोध गर्दै विप्लवले एक विज्ञप्ति जारी गरी कात्तिक २५ गतेदेखि ३० गतेसम्मको विभिन्न विरोधका कार्यक्रम घोषणा गरेको थियो ।