गौरादहको मियाँ हत्याकाण्डमा श्रीमानश्रीमती सहित पाँचजना पक्राउ
बिर्तामोड । गौरादह नगरपालिका ५ का मबेसिर हुसेन मियाँको हत्या आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । हत्या आशंकामा सोही स्थानका ३१ बर्षीय महम्मद सद्दाम, सद्दामकी श्रीमती २८ बर्षीया सुमेरन खातुन, २६ बर्षीय महम्मद सुलेमान, सुलेमानकी श्रीमती २२ बर्षीया रुक्सार खातुन र ३८ बर्षीया कुर्समान खातुन रहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।
गत कार्तिक ११ गते विहान ११ बजेदेखि हराएका मबेसिर हुसेन मियाँको खोजतलास गरी पाउँ भनी उनकी श्रीमती नुरजन खातुनले कार्तिक १४ गते ईलाका प्रहरी कार्यालय दमकमा निवेदन दिएकी थिईन ईलाका प्रहरी कार्यालय दमकको टोलीले मियाँको खोजतलास गर्ने क्रममा कात्तिक २६ गते महमद सद्दामको घर कोठाको झ्यालको पल्ला तथा ग्रीलहरुमा रगत जस्तो रातो पदार्थको छिटाहरु फेला पारेको थियो । त्यसपछि हुसेनको हत्या आशंकामा सद्दामको घर खानतलासी गर्दा सेफ्टी ट्याङ्की भित्र प्रहरीले दुर्गन्धित अवस्थामा हुसेनको शव फेला पारेको थियो । घटनास्थलबाट घटनामा प्रयोग भएका घरेलु धारिलो हतियार दाउ, छुरी र घन (मार्तोल) लगायत बरामद गरेको इलाका प्रहरी कार्यालयका प्रमुख डिएसपी नवराज कार्कीले जानकारी दिए । कार्कीका अनुसार प्रारम्भिक बयानको क्रममा आरोप स्वीकार गरेका छन । पक्राउ परेकाहरुलाई कर्तव्य ज्यान मुद्दामा म्याद थप गरी अनुसन्धान भईरहेको प्रहरीको भनाई छ ।