प्रदेश १ का मुख्यमन्त्री राईले कात्तिक ३० गते विश्वासको मत लिने
विराटनगर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले कात्तिक ३० गते विश्वासको मत लिने भएका छन । पाँच दलको समर्थनमा प्रदेश १ को मुख्यमन्त्री नियुक्त भएका राईले कात्तिक ३० गते विश्वासको मत लिन आज प्रदेश सभामा प्रस्ताव दर्ता गराएका छन ।
कात्तिक ३० मा बस्ने संसद्को बैठकबाट विश्वासको मत लिनका लागि मुख्यमन्त्रीले आइतवार प्रस्ताव दर्ता गराएको प्रदेश सभा सचिवालय कार्य व्यवस्था शाखा प्रमुख तथा सूचना अधिकारी प्रमोद विश्वकर्माले जानकारी दिए । उनका अनुसार दर्ता भएको प्रस्तावअनुसार सोमबार प्रदेश सभाको कार्य व्यवस्था समितिको बैठकपछि कार्यसूची प्रकाशित हुनेछ ।
एमालेका भीम आचार्यले कात्तिक १५ गते प्रदेशको मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि कांग्रेस, माओवादी केन्द्र, जनता समाजबादी र संघीय लिम्बुबान मञ्चसहितको पाँचदलीय गठबन्धनबाट नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता राजेन्द्र राई कात्तिक १७ गते प्रदेश १ को मुख्यमन्त्री नियुक्त भएका थिए । उनले सोही दिन एक राज्यमन्त्री र चार विभागीय मन्त्रीसहित ६ जनाको मन्त्रिपरिषद् विस्तार गरेका थिए ।
प्रदेश १ मा कुल ९२ सांसदमध्ये एमालेका ४१, कांग्रेस २१, माओवादी केन्द्र १५, एकीकृत समाजवादी १०, जनता समाजवादी ३ तथा राप्रपा र संघीय लोकतान्त्रिक मञ्चका एक/एक सांसद छन ।