सुवासचन्द्र नेम्बाङद्वारा सहाराको सदस्य बन्ने घोषणा
बिर्तामोड । संविधान सभाका अध्यक्ष एवम् पूर्व सभामुख सुवासचन्द्र नेम्बाङले सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको सदस्य बन्ने घोषणा गरेका छन् । साकोसको २५औँ बार्षिक साधारण सभाको अवसरमा नेम्बाङले आफू सहाराको सदस्य बन्ने घोषणा गरेका हुन ।
नेम्बाङले सहाराको सदस्यता लिन पाउँदा खुशी लागेको बताए । साधारणसभाका प्रमुख अतिथि नेम्वाङले सहारा नेपालको वार्षिक प्रगति र सहभागी वक्ताहरुले दिएको अभिव्यक्ति सुनेर प्रभावित भएको भन्दै सदस्य बन्ने घोषणा गरेका हुन् । उनले संस्थाको विगत र वर्तमान सुनेरै सदस्य बन्ने निर्णय गरेको बताए । नेम्बाङले ठट्यौली पारामा सहाराले भैँसी सुत्केरी हुँदा भत्ता दिने कुरा आफुलाई असाध्यै मन परेको बताए ।
प्रमुख अतिथि नेम्वाङले सहकारी संस्था
समृद्ध राष्ट्र निर्माणको महत्वपूर्ण हिस्सा भएको बताएका छन् । उनले आफु पनि विभिन्न
माध्यमबाट सहकारी आन्दोलनमा जोडिएको बताए । नेता नेम्वाङले सहाराको प्रशंसा गर्दै सहकारी
अभियान देशको हितमा रहेको बताएका छन् । उनले सहाराले अघि सारेका कार्यक्रमलाई प्रभावकारी
कार्यान्वयन गर्दै जान आग्रह समेत गरे ।
राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज
कडेलले सहकारी मार्फत मुलुकको कायापलट गर्न सकिने विचार व्यक्त गरे । उनले विभिन्न
देशको सहकारीको इतिहास र उदाहरण दिँदै सहाराले उद्घोष गरेको बिग मर्जरको अवधारणा अत्यन्तै
जरुरी भएको बताए । उनले सहारासँग लामो समयदेखि सँगसँगै रहेको बताउँदै सहाराले गरेको
प्रगतीको प्रशंसा गरे ।
कार्यक्रममा झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सीना, राप्रपाका जिल्ला अध्यक्ष केशव ओझा, एमालेका अध्यक्ष चिन्तन पाठक, नेपाली कांग्रेसका उद्धव थापा लगायतले शुभकामना मन्तव्य राख्दै सहाराले सामाजिक क्षेत्रमा पुर्याएको योगदानको प्रशंसा गरे ।
सोहि अवसरमा सहाराले राष्ट्रिय सहकारी महासंघका निवर्तमान अध्यक्ष तथा सहकारी अभियन्ता केशवप्रसाद बडाललाई सम्मान गरेको छ । साकोसले एक लाख एक हजार रुपैयाँ नगद सहित बडाललाई राष्ट्रिय ब्यक्तित्व सम्मान प्रदान गरेको छ । बडालले लामो समयदेखि सहकारी अभियानको उन्नयन, प्रवर्धन र सुदृढीकरणका लागि निरन्तर क्रियाशिल रहँदै सार्वजनिक, निजी र सहकारी सहितको तीनखम्बे अर्थनीति मार्फत मुलुकलाई आत्मनिर्भर र समृद्ध बनाउने यात्रामा महत्वपूर्ण योगदान पुर्याएको भन्दै सम्मान गरेको साकोसले जनाएको छ ।
साकोसका प्रमुख कार्यकारी अधिकृत महेन्द्रकुमार गिरीले २०५२ सालमा ३ लाख शेयर पुँजीबाट शुरु गरेको संस्थामा हाल १ अर्ब४६ करोड ६५ लाख बढी रहेको जानकारी दिए । संस्थाले गत आवमा ४५ करोड १२ लाख रुपैँया खुद नाफा आर्जन गरेको बताएको छ । प्रदेश १ को ८० स्थानीय तहमा विस्तार भएको सहारामा हाल १ लाख ५० हजार ३५४ जना शेयर सदस्य रहेका छन् ।