आजबाट राष्ट्रीय जनगणनाको मुख्य गणना शुरु, झापामा ११८७ गणक खटाइयो
बिर्तामोड । राष्ट्रीय जनगणना २०७८ को मुख्य गणना कार्य आजबाट देशभर शुरु हुँदैछ । १९६८ बाट शुरु भएको राष्ट्रिय जनगणनाको यो १२औँ श्रृङ्खला हो । जनगणनाका लागि झापामा आज विहानैबाट गणकहरु घरघरमा जाने क्रम शुरु भईसकेको जिल्ला जनगणना कार्यालय चन्द्रगढीले जनाएको छ ।
झापामा प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सीनाको निवासबाट गणना कार्य शुभारम्भ गरिने चन्द्रगढी कार्यालयका जिल्ला जनगणना अधिकारी चुडामणी लुइटेलले जानकारी दिए । त्यस्तै पालिकाहरुमा पालिका प्रमुख र वडास्तरमा वडाध्यक्षको घरबाट गणना शुरु गरिने उनले बताए । जनगणना गर्दा अक्सर बसोबासको सिद्धान्त अनुसार जो जहाँ बसेको छ त्यहिँ गणना गरिने भएकाले सबैलाई गणना कार्यमा सहभागी भईदिन लुईटेलले अनुरोध गरे ।
झापामा जनगणनाका लागि चन्द्रगढी र दमक गरी दुई ठाउँमा कार्यालय राखिएको छ । झापामा १ हजार १८७ गणक र २६५ जना सुपरिवेक्षक खटाइएको दमक कार्यालयका जिल्ला जनगणना अधिकारी प्रेमकुमार घिमिरेले जानकारी दिए । जिल्लामा बिर्तामोड नगरपालिकाको ५ नम्बर वडामा सबैभन्दा बढी २९ जना र बुद्धशान्ति गाउँपालिकाको ७ नम्बर वडामा सबैभन्दा कम ३ जना गणक परिचालन गरिएको छ । गणकहरुले गणना गर्दै जाने र सुपरभाइजरले त्यसको अनुगमन गर्दै जाने छन् । प्रत्येक ४ जना गणक बराबर १ जना सुपरभाइजर रहने जिल्ला जनगणना अधिकारी लुईटेलले बताए ।
यो गणना आगामी मङ्सिर ९ गतेसम्म जारी रहने छ । जनगणनाको पहिलो चरणमा घर तथा घरपरिवार सूचीकरण यसअघि नै भइसकेको छ । सूचीकृत भइसकेका र कुनै कारणले छुटेकासमेत सबै परिवारमा गणक पुगी १५ दिनभित्र सबै व्यक्तिको विस्तृत विवरण सङ्कलन गर्न देशभर करिब ४० हजार गणक र आठ हजार ५०० सुपरीवेक्षक परिचालन गरिएको छ । जनगणना सफल बनाउन केन्द्रदेखि वडा तहसम्म विभिन्न जनगणना समन्वय तथा सहजीकरण समिति गठन गरिएको केन्द्रीय तथ्याङ्क विभागका महानिर्देशक नेबिनलाल श्रेष्ठले बताए । उनका अनुसार जिल्लामा प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा जिल्ला जनगणना समन्वय समिति रहने उनले बताए । श्रेष्ठका अनुसार जनगणना सञ्चालन गर्न सात प्रदेशमा जनगणना कार्यालयसहित ८७ जिल्ला जनगणना कार्यालय र त्यसअन्र्तगत ३४९ स्थानीय जनगणना कार्यालय स्थापना भएका छन ।
जनगणनाको फाराममा ८० वटा प्रश्नावली रहेका छन । एक परिवारलाई प्रश्नावली भर्नका लागि औसतमा २० मिनेट समय लाग्ने बताइएको छ । यस क्रममा देशभरका छ हजार ७४३ वडाबाट आधारभूत आर्थिक, सामाजिक, सेवा, सुविधा, पूर्वाधार र विपद् अवस्थाको समेत जानकारी सङ्कलन गरी सामुदायिक प्रश्नावली भरिने र यसबाट सम्पूर्ण वडाको वास्तविक जानकारी पाउन सकिने महानिर्देशक श्रेष्ठले जानकारी दिए । जनगणनाको प्रतिवेदन तयार पार्न दुईबर्ष समय लाग्ने उनले बताए ।