राप्रपा महाधिवेशन नजिकिएसँगै नेतृत्वको लागि गठबन्धन गर्दै लिङदेन
काठमाडौँ । आफ्नो पुस्ताबाट नेतृत्व खोज्नका लागि राप्रपाका दोस्रो पुस्ताका नेताहरु सक्रिय भएका छन् । केहि दिन अघि काठमाण्डौको होटल एल्लो प्यागोडामा राप्रपा नेता लिङदेन र धवल शमशेर राणा निकटका युवा नेताहरुले दास्रो पुस्ताबाट नेतृत्व खोज्ने भद्र सहमति गरेका छन् ।
पटक पटक मिति सर्दै आगामी मंसिर ११ देखि १३ गतेसम्म काठमाण्डौमा गर्ने गरी राप्रपा महाधिवेशनको मिति टुङ्गो लागेको छ । महाधिवेशन नजिकिँदै गर्दा नेताहरु नेतृत्व चयनका लागि लागिपरेका छन् । एल्लो प्यागोडामा दोस्रो पुस्ताका लिङदेन र धवल शमशेर राणा बिच मिलेर जाने सहमति भएको बताइएको छ । दुई मध्ये एक जनालाई सघाउने भद्र सहमति भएको हो । राप्रपाका एकमात्र सांसद लिङदेन भरसक आफू पार्टीको नेतृत्वमा जाने सोँच बनाएको बताइएको छ ।
तत्कालीन राप्रपाले राजतन्त्रवादी धार छाड्दा त्यसप्रति असन्तुष्टि जनाउँदै कमल थापाले नयाँ दल राप्रपा नेपाल गठन गर्दा उनलाई साथ दिने एक जना नेता थिए, राजेन्द्र लिङ्देन । २०६४ पछि निरन्तर रुपमा थापाकै कित्तामा बसेका लिङ्देनले २०७४ सालको प्रतिनिधिसभामा झापाबाट चुनाव जित्दै संसद्मा राप्रपाको बीउ जोगाइदिएका थिए ।
यसबीचमा पटक पटक विभाजन र एकता गर्दै अहिले एकता महाधिवेशन संघारमा पुग्दै गर्दा लिङ्देन थापाका लागि चुनौती बनेर खडा भएका छन ।
नयाँ नेतृत्वका युवा पुस्ताको नारा अघि सार्दै लिङ्देनले अध्यक्षमा उम्मेदवार दिने तयारी सुरु गरेसँगै मंसिरको दोस्रो साता हुने महाधिवेशनमा नेतृत्वका आकाक्षी थापा र अर्का अध्यक्ष पशुपतिशमशेर राणा दुवैका लागि चुनौती बन्ने देखिन्छ । त्यसैगरी राप्रपाका अर्का अध्यक्ष प्रकाशचन्द्र लोहनीले आफूपनि अध्यक्षमा प्रतिस्पर्धा गर्ने बताएका छन । थापा र राणाको तुलनामा पार्टी संगठनमा लोहनीको पकड भने कमजोर छ ।
२०७६ फागुनमा एकता भएपछि राप्रपाको पहिलो पटक मंसिर ११ देखि १३ गतेसम्म हुन लागेको महाधिवेशनमा थापा र राणासँगै लिङ्देन अध्यक्षमा प्रतिस्पर्धा गर्ने भएका छन । थापालाई लामो समयदेखि साथ दिँदै आएका नेता धवलशम्शेर राणाले लिङ्देनलाई साथ दिने सहमति जनाइसकेका छन । लामो समयदेखि थापालाई साथ दिँदै आएका राणा नेपालगञ्ज उपमहानगरपालिकाका मेयर हुन । लिङ्देन र थापाबीच दशैअघि नै यस विषयमा सहमति भइसकेको छ ।
थापालाई लामो समयदेखि साथ दिएका लिङ्देनको गत आमनिर्वाचनपछि देखिनै फाटो आएको थियो । लिङ्देन निकट नेताहरुले थापाले थ्रेट महसुश गरेर तल्लो तहमा जनमत भएका नेताहरु लिङदेन र धवललाई किनारा पार्न थालेपछि अहिले दुवै एकै स्थानमा उभिन पुगेको बताउँछन । उनले संघीयता, धर्मनिरपेक्षता र गणतन्त्रको विरोधमा ठूलो जनमत भएपनि थापाले त्यसलाई संगठित गर्न नसकेको विषयलाई अघि बढाउने तयारीमा छन । थापाको नेतृत्व पार्टी बाहिरका शक्तिका लागि विश्वसनीय हुन नसकेको ठहर गरेका छन ।
राष्ट्रिय महाधिवेशनअघि राप्रपाका जिल्ला अधिवेशनहरु धमाधम भैरहेका छन । आगामी कात्तिक २७ गते राप्रपाले सात वटै प्रदेशमा एकैपटक अधिवेशन गरेर नयाँ नेतृत्व छान्ने तयारी गरेको छ । मंसिर १ देखि ३ गतेसम्म महाधिवेशन प्रतिनिधिहरुको छनोट छ ।
राप्रपा महाधिवेशनमा लागि प्रत्येक प्रदेशसभाबाट निर्वाचन क्षेत्रबाट ३ खुला, ३ महिला, १ दलित र २ जनजाति प्रतिनिधि समेत नौ जना प्रतिनिधित्व हुने छ । जसको संख्या २ हजार ९ सय ७९ जना हुने छ । त्यसैगरी प्रत्येक पालिकाका सभापति ७ सय ५३, प्रदेशसभाका सभापति ३ सय ३०, प्रतिनिधससभा क्षेत्रका सभापति १ सय ६५, जिल्ला सभापति ७७, प्रदेश सभापति ७ जना सहभागी हुनेछन । त्यसैगरी केन्द्रीय सदस्य र मनोनित गरि करिब ५ हजार जनाको प्रतिनिधिले पार्टीको नयाँ नेतृत्व छनोट गर्ने तयारी छ ।
राप्रपाले आगामी महाधिवेशनका लागि हाल जिल्ला अधिवेशनका साथै सक्रिय सदस्यताको टुंगो लगाउने कार्य गरिरहेको छ । केन्द्रीय निर्वाचन समितिले कात्तिक २६ भित्र सक्रिय सदस्यहरुको नामावली जिल्लाहरुमा पठाउने गरी निर्णय भएको छ ।
यसैगरी सक्रिय सदस्यको दावी विरोध कात्तिक २७, २८ र २९ गते गर्ने तथा अन्तिम नामावली कात्तिक ३० गते प्रकाशन गर्ने गरी कार्यतालिका तय भएको प्रचार विभाग सदस्य जनकराज पाठकले जानकारी दिए । यसैगरी जिल्ला अधिवेशन कात्तिक २३ भित्र तथा सातवटै प्रदेशसभाबाट प्रदेश कार्य समितिको निर्वाचन कात्तिक २८ गते हुनेछ ।
हालसम्म राप्रपाको ६३ जिल्लामा नेतृत्व चयन भइसकेको छ । बाँकी जिल्लामा तोकिएको समयभित्र अधिवेशन सम्पन्न गर्ने राप्रपाको लक्ष्य छ ।