एमाले बिर्तामोड नगरकमिटी अध्यक्षमा भट्टराई विजयी
बिर्तामोड । नेकपा एमाले बिर्तामोड नगर कमिटीको अध्यक्षमा सुवास भट्टराई निर्वाचित भएका छन् । भट्टराईले उमानाथ ओलीलाई पराजित गरेका हुन ।
आज राती सम्पन्न मत गणनाको परिणाम अनुसार भट्टराईले २७७ मत प्राप्त गर्दै अध्यक्षमा विजयी भएका हुन् । उनका प्रतिद्वन्दी ओलीले १४० मत प्राप्त गरे ।
नगर कमिटीको उपाध्यक्षमा पुष्पा गौतम दाहालले उर्मिला विमली खरेललाई पराजित गरिन । सचिवमा शेखर कँडेल निर्वाचित भएका छन् । उपसचिवमा प्रकास लिङ्देन र मदन बुढाथोकी निर्वाचित भएका छन् । दुई जना उपसचिवका लागि ८ जना बिच निर्वाचन भएको थियो ।
यस्तै सदस्यमा गुञ्जन प्रसाई र किशोर पौडेल निर्वाचित भएका छन् । दलित सदस्यमा रोशन घतानी र सुमन त्रिखत्री निर्वाचित भएका छन् । बुधबार दिउँसो १ बजे जिल्ला पार्टी कार्यालयमा घोषणासभा एवम् शपथग्रहण कार्यक्रम गराइने अध्यक्ष मण्डलका सदस्य बद्री भट्टराईले जानकारी दिए ।
९ गते भएको उद्घाटनपछि विर्तामोडमा सर्वसम्मतका लागि प्रयास गरिएको थियो । शुरुमा १४ जना अध्यक्षका आकांक्षी भएपनि २ जनाबिच प्रतिष्पर्धा भएको थियो ।