आजदेखि तिहार शुरु
काठमाडौं
। नेपाली हिन्दूहरूको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि शुरु हुँदैछ ।
मङ्गलबार
बेलुकी यमदीपदान शुरु गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । यस वर्ष
यमदीपदान आजदेखि शुरु हुने भए पनि काग र कुकुर तिहार कात्तिक १७ गते बुधबार परेको समितिका
अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीले जानकारी दिए । बेलुकी त्रयोदशी तिथि परेका दिन यमदीपदान
शुरु हुन्छ ।
बुधबार
बिहान ७:१४ बजेसम्म त्रयोदशी तिथि छ । त्रयोदशीमा सूर्योदय भएका दिन काग तिहार मनाइन्छ
। बिहान ७:१४ बजेपछि चतुर्दशी तिथि लाग्ने भएकाले कुकुरको पूजा एवं मीठा खाने कुरा
खान दिने दिन पनि बुधबार नै परेको हो । ‘सायंकालमा त्रयोदशी भएका दिन यमदीपदान शुरु
गर्नुपर्ने र प्रातः कालमा त्रयोदशी भएका दिन काग तिहार मनाउनुपर्ने शास्त्रीय व्यवस्थाअनुसार
यस्तो निर्णय गरिएको हो’, उनले भने ।
यमपञ्चकका
अवसरमा यमदीपदान गरे यमयातनाबाट मुक्ति पाइने शास्त्रीय मान्यता छ । यसैगरी धन्वन्तरी
जयन्ती र धनतेरस पर्व पनि आजै परेको छ । तिथिको घटबढका कारण काग र कुकुर तिहार बुधबार
एकै दिन परेको समितिले जनाएको छ ।
यमदीपदान
परिवारका सदस्य सङ्ख्याका आधारमा गरिन्छ । यमदीपदान गर्दा दक्षिण फर्काएर गर्नुपर्ने
धर्मशास्त्रविद् एवं समितिका पूर्वअध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले बताउनुभयो ।
कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीया अर्थात् भाइटीकाका दिनसम्म यमदीपदान
गर्ने शास्त्रीय विधि छ ।
कात्तिक
१८ गते बिहीबार बिहान नरक स्नानसहित लक्ष्मी पूजा गर्नुपर्छ । बिहीबार बिहान अरुणोदयकालअघि
अपामार्गसहित स्नान गरिन्छ । यसलाई नरक स्नान भनिन्छ । यस दिन बिहान विधिपूर्वक स्नान
गरेर बत्ती बालेर नदीमा बगाउनाले नरकको यातना सहनु नपर्ने शास्त्रीय मान्यता छ ।
गाई,
गोरु र आत्म (म्ह) पूजा कात्तिक १९ गते शुक्रबार परेको छ । कात्तिक शुक्ल प्रतिपदाका
दिन गाई, गोरु, गोवर्धन र आत्म (म्ह) पूजा गर्नुपर्ने शास्त्रीय वचन रहेको छ । प्रतिपदाका
दिन सूर्योदय भएकै दिन नयाँ वर्ष मनाउनुपर्ने शास्त्रीय वचन अनुसार यस्तो निर्णय गरिएको
उनले सुनाए । यसै दिनदेखि नेपाल संवत् ११४२ शुरु हुन्छ ।