सदस्यको सर्वपक्षीय हित प्रवर्धन गर्दै सहारा नेपाल
पिछडिएको समुदायका १० जनालाई डाक्टर पढाउने
बिर्तामोड । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले २५ औँ बार्षिक साधारण सभाका लागि तयार पारेको बार्षिक प्रगती प्रतिवेदन सार्वजनिक गरेको छ । साकोसले बार्षिक प्रगती प्रतिवेदनसँगै सदस्यहरुको सर्वपक्षीय हितका कार्यक्रमहरु समेटेर तयार पारेको भावी नीति तथा कार्यक्रम समेत सार्वजनिक गरेको छ ।
प्रदेश १ को ६ वटा जिल्लामा १ लाख ५० हजार ३५४ जना सदस्य रहेको साकोसले चालु आर्थिक बर्षका लागि १६ वटा शिर्षकमा ७२ वटा कार्यक्रम प्रस्ताव गरेको छ । संस्थाले सामाजिक सुरक्षा, स्वास्थ्य कार्यक्रम, कृषि तथा पशु व्यवसाय प्रवर्धन, सामुदायिक विकास योजना आदिलाई प्राथमिकतामा राखेको छ ।
सामाजिक सुरक्षा योजना अन्तर्गत भत्तैभत्ता
साकोसले सदस्यहरुको सामाजिक सुरक्षालाई विषेश प्राथमिकता दिएको छ । संस्थाले ६५ बर्ष उमेर पुगेका जेष्ठ सदस्यहरुलाई स्वस्थ्य जीवनका लागि बार्षिक ६ हजार रुपैँया प्रदान गर्ने कार्यकारी अधिकृत महेन्द्रकुमार गिरीले जानकारी दिए । जेष्ठ सदस्य सम्मान भत्ता बापत ७० बर्ष समेर पूरा गरेको सदस्यलाई बार्षिक ८ हजार र ८१ बर्ष पूरा भएकाहरुलाई १० हजार रुपैँया उपलब्ध गराउने गिरीले बताए । त्यस्तै ८६ देखि ९९ बर्ष उमेरका सदस्यहरुलाई २५ हजार दीर्घायु भत्ता उपलब्ध गराउने उनको भनाई छ । एकल महिलालाई बार्षिक ८ हजार र ५८ बर्ष उमेर पूरा भएका एकल पुरुषलाई बार्षिक ६ हजार भत्ता उपलब्ध गराउने संस्थाले जनाएको छ ।
घरदेखि अस्पतालसम्म स्वास्थ्य सुविधा
साकोसको प्रमुख कार्यक्रम अन्तर्गत रहेको स्वास्थ्य सेवा योजना अन्तर्गत विभिन्न सुविधाहरु उपलब्ध गराएको छ । साकोसले अति विपन्न ३ सय परिवारलाई स्वास्थ्य विमा कार्यक्रममा सहभागी गराउने छ । उच्च रक्तचाप, सुगर, थाइराइड, मुटु, मृगौला लगायत नियमित औषधी सेवन गर्नुपर्ने १० किसिमका रोगीहरुलाई औषधीको ५० प्रतिशत सहयोग उपलब्ध गराउँदै आएको कार्यकारी अधिकृत गिरीले जानकारी दिए । संस्थाले महिला शेयर सदस्यहरुलाई पहिलो दुई सन्तानसम्म सुत्केरी भएको अवस्थामा सुत्केरी पोषण सामग्री उपलब्ध गराउने र बच्चाको मुख हेरी पाँचसयको बाल बचत खाता खोली बचत जम्मा गर्ने गरेको छ ।
साकोसले बिरामी सदस्यहरुको घरदैलोमा नै औषधी उपलब्ध गराउने उद्धेश्यले अनलाईन फार्मेसी सञ्चालन गर्नुका साथै एम्बुलेन्स सेवा समेत सञ्चालन गर्ने जानकारी दिएको छ । त्यस्तै जेष्ठ नागरिक हेल्थ केयर कार्यक्रम अन्तर्गत यसै बषेदेखि जेष्ठ सदस्य तथा बृद्ध बुवाआमा बिरामी भएमा घरमा नै अस्पतालको सेवा दिन ह्वील चेयर, अस्पताल बेड, कुर्सी, अक्सिजनको सुविधा न्यूनतम शुल्क लिएर निको भएपछि फिर्ता गर्ने गरी उपलब्ध गराउने भएको कार्यकारी निर्देशक गिरीले जानकारी दिए । साकोसले हाल विभिन्न अस्पतालहरुमा आफ्ना सदस्यहरुलाई स्वास्थ्य सेवामा सहुलियत उपलब्ध गराउँदै आएकोमा अब एक सुविधा सम्पन्न डाइग्नोष्टिक सेन्टर स्थापना गिरी सहुलियत सुवा प्रदान गर्ने निर्णय गरेको छ ।
पिछडिएको समुदायका १० जनालाई डाक्टर पढाउनुका साथै पशु सुत्केरी भत्ता प्रदान गरिने
साकोसको तेस्रो महत्वपूर्ण योजनाको रुपमा रहेको कृषि तथा पशु व्यवसाय प्रवर्धन अन्तर्गत ‘म पनि उद्यमी’ अभियान सञ्चालन गरी आगामी चार बर्षभित्र १० हजार उद्यमी तयार गर्ने लक्ष्य लिएको बताइएको छ । सो अभियानमा सदस्यहरुलाई सम्भाव्यता अध्ययन, तालिम÷सीप, ऋण, बजार र प्राविधिक ज्ञान सहयोग गरिने गिरीले जानकारी दिए । संस्थाले व्यवसायिक ऋण दिई गाई तथा भैँसी पालन गरिरहेका कृषकहरुलाई त्यस्ता पशु सुत्केरी भएमा सुत्केरी भत्ता बापत एक हजार रुपैँया उपलब्ध गराउने र हाल सो कार्यक्रम ६ वटा पालिकाबाट शुरु गर्ने भएको छ । गिरीका अनुसार आर्थिक अभावका कारण डाक्टर पढ्न नपाएका अल्पसंख्यक समुदाय (सन्थाल, मुसहर, लेप्चा, किसान) आदिका १० जना छोराछोरीलाई एमबिबिएस अध्ययनका लागि २५ लाख रुपैँयासम्म अनुदान उपलब्ध गराइने र यसै बर्ष २ जनाबाट कार्यक्रम शुरु गरिने छ ।
सदस्य कृषकहरुलाई व्यवसायिक तरकारी खेत ीगर्न टनेल, थोपा सिंचाई, सोलार पम्प, यान्त्रिकीकरणलाई प्रवर्धन गर्ने जनाइएको छ । साकोसले कृषकहरुलाई बजारीकरणमा सहयोग गर्ने उद्धेश्य र सहकारी साझेदारी अवधारण अनुरुप मह उद्योग सञ्चालन गर्दै आएको छ ।
साकोसले १० वटा सामाजिक व्यवसाय सञ्चालन गर्ने जनाएको छ । ग्रामिण स्वास्थ्यमा सहयोग पुर्याउने उद्धेश्यले संस्थाले गत बर्ष उदयपुर र पाँचथरको ग्रामिण भेगको दुईवटा पालिकामा एम्बुलेन्स हस्तान्तरण गरेको र यस बर्ष ४ वटा एम्बुलेन्स ती जिल्लाहरुमा हस्तान्तरण गरिने कार्यकारी निर्देशक गिरीले जानकारी दिए ।
एक अर्ब ४६ करोड ६५ लाख शेयर पुँजी भएको सहारा नेपाल साकोसको जगेडा कोष ९४ करोड १ लाख, अन्य कोष ३७ करोड ५७ लाख, बचत ८ अर्ब २३ करोड ९४ लाख, लगानी १० अर्ब १ करोड ४२ लाख, भौतिक सम्पति ४० करोड हुनका साथै बाह्य ऋण १ अर्ब ३२ करोड रहेको बताइएको छ । गत आवमा ४५ करोड १२ लाख खुद नाफा गरेको संस्थाको वासलात १२ अर्ब ७१ करोड ८१ लाख रहेको कार्यकारी निर्देशक गिरीले जानकारी दिए । संस्थाले सदस्य संरक्षण सिद्धान्त राम्रोसँग पालना गरेकाले अन्तर्राष्ट्रिय स्तरको स्मार्ट क्याम्पेन नेटवर्कले बिश्व स्तरको स्मार्ट सर्टिफिकेसन प्रदान गरेको छ ।
संस्थाले आफ्नो २५औँ बार्षिक साधारण सभा कात्तिक २७ गते शनिबार बिर्तामोडमा गर्ने र कार्यक्रम सफल पार्न सबै पक्षसँग सहयोगको अपिल गरेको छ ।