नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अल्मुताइरीलाई सम्मान
काठमाण्डौ । सरकारले नेपाली
राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्हा अल्मुताइरीलाई सम्मान गरेको छ । युवा
तथा खेलकुदमन्त्री महेश्वरराज गहतराजले मन्त्रालयमा आयोजित समारोहमा उनलाई नेपाली टोपी
र खाँदा लगाएर सम्मान गरेका हुन ।
अल्मुताइरीको मुख्य प्रशिक्षणमा
माल्दिभ्समा असोज १५ देखि ३० गतेसम्म भएको साफ फुटबल च्याम्पियनसिपमा नेपाल उपविजेता
भएको थियो । नेपाललाई पहिलो पटक साफ फुटवल च्याम्पियनसिपमा उपविजेतासम्म पु¥याउन उल्लेखनीय
योगदान दिएवापत युवा तथा खेलकुद मन्त्रालयले
योगदानको कदर गर्दै सम्मान गरेको हो ।
उक्त प्रतियोगितामा नेपालसहित,
माल्दिभ्स, भारत, श्रीलङ्का र बङ्गलादेशले भाग लिएका थिए । भारतसँग ३–० ले पराजित भई नेपाल उपविजेता बनेको थियो । सम्मान समारोहमा
मन्त्री गहतराजले छोटो समयमै प्रशिक्षक अल्मुताइरी फुटबल खेलाडी मात्र नभएर सम्पूर्ण
नेपालीको हृदयमा बस्न सफल भएको भनी योगदानको सराहना गरे ।
उनले भने, ‘नेपाल फर्किएकामा
खुशी लागेको छ, तपाईं खेलाडीका लागि मात्र होइन, नेपालकै असल मित्र हुनुहुन्छ, सरकारले
खेल क्षेत्रका समस्या बुझेको छ, सम्बोधन गर्न तयार छ ।’ अल्मुताइरीको नेतृत्वमा नेपाली फुटबलको विकास र विस्तारमा
थप महत्वपूर्ण योगदान हुने विश्वास व्यक्त गर्दै मन्त्री गहतराजले भने, ‘मन्त्रालय
तपाईको साथमा छ, तपाई खेलाडीका साथमा हुनुहुन्छ ।’
युवा तथा खेलकुद मन्त्रालयका कामु सचिव डा कमल पोखरेलले प्रशिक्षक र खेलाडीको निरन्तरको अभ्यास एवं ठूलो मेहनतबाट नेपालले सकारात्मक नतिजा प्राप्त गर्न सफल भएको बताए । सम्मानित व्यक्तित्व मुख्य प्रशिक्षक अल्मुताइरीले समग्र खेलाडी र आफ्नो कडा परिश्रमबाट नेपालले फुटबलमा उच्चस्तरको नतिजा हासिल गरेको प्रतिक्रिया दिए । रातोपाटीबाट