पाँचथरमा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु ६१ जना घाइते
बिर्तामोड । पाँचथरमा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । जिल्लाको फिदिम नगरपालिका ४ सखरखण्डेमा भएको दुर्घटनामा परि बसका चालकसहित ६१ जना घाइते भएको प्रहरीले जनाएको छ ।
सोमबार बिहान ११ बजे पाँचथरको सविखोलाबाट फिदिमतर्फ आउँदै गरेको को १ ख ३८६५ नम्बरको बस सडकबाट अन्दाजी २० मिटर तल झरी दुर्घट्ना हुँदा बसमा सवार ४ जनाको मृत्यु भएको १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रवक्ता नविनराज राईले जानकारी दिए ।
बसमा सवार लेटाङ नगरपालिका ६ मोरङका ७ बर्षीय प्रज्वल मगरको पाथीभरा अस्पताल, ईलाम बस्ने ३४ बर्षीया प्रमिला देवानको जिल्ला अस्पताल, उनकै ७ महिने छोरा निश्चल देवान र आशिका बुढाथोकीको समर्पित अस्पताल पाँचथरमा उपचारको क्रममा मृत्यु भएको राईले जानकारी दिए ।
सो दुर्घटनामा परि गम्भीर घाईते भएका १२ जनालाई थप उपचारको लागी झापातर्फ पठाइएको र अन्य घाइतेहरुको फिदिमका बिभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
यसैबीच, दुर्घटनामा परि घाइते भएकामध्ये १५ जनालाई थप उपचारको लागि धरान लगिएको छ ।गम्भीर घाइते भएकाहरूलाई नेपाली सेनाको हेलिकोप्टरले थप उपचारका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगेको हो । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।