२०८३ बैशाख ६ गते , आईतबार
सोलार फेन्सिङ्गबाट करेन्ट लाग्दा एक महिलाको मृत्यु
मानिसको लागि गल पासो बन्दै सोलार फेन्सिङ्ग
झापा । करेन्ट लागेर झापामा एक जना महिलाको मृत्यु भएको छ । हात्ती धपाउन राखेको तारबाट करेन्ट लाग्दा भद्रपुरमा ती महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
आज बिहान ८ बजे भद्रपुर १० केन्द्रमोड बस्ने शिव पौरीयाकी श्रीमती ५४ वर्षिया कल्पना राई पौरीयाको आफ्नै घरबाहिर हात्ती धपाउन राखेको तारमा अचानक छुन गई करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले जानकारी दिए ।
पछिल्लो समय हात्ती धपाउन बनाइएको सोलार फेन्सिङ्गका कारण झापामा थुप्रै मानिसले अकालमा ज्यान गुमाइरहेका छन । बुद्धशान्ति गाउँपालिका ४ निवासी १८ वर्षीय अनिष राई र उनकै मामा भोजपुर निवासी ३५ वर्षीय मणिराम राईको वुद्धशान्ति गाउँपालिका ४ मा हात्ती धपाउन लगाइएको विद्युतीय तारमा परी करेन्ट लागेर मृत्यु भएको थियो । २०७६ कात्तिक १६ मा दुवैको ज्यान गएको थियो ।
त्यसको दुईसाता नवित्दैं गाई वस्तु धपाउन खोज्दैं गर्दा झापा मेचीनगर ९ निवासी ५७ वर्षीया बुद्धिमाया तामाङको पनि हात्ती धपाउन प्रयोग गरिएको विद्युतीय तारमा परी करेन्ट लागेर मृत्यु भयो । उनको घटनास्थलमै मृत्यु भएको थियो । २०७६ मंसिर १ गते तामाङको ज्यान गएको थियो ।
मेचीनगर ९ माथिल्लो मागुरमाडीका दुई दाजुभाईको करीब एघार महिनाको फरकमा विद्युतीय तारवारमा परी करेन्ट लागेर मृत्यु भएको आफन्त बालकृष्ण थपलियाले जानकारी दिए । ६० वर्षीय दाजु गंगा थपलिया र भाई बद्री थपलियाको मृत्यु भएको उनको भनाई छ ।
अर्जुनधारा ४ दहिझोडा निवासी २५ वर्षीया अनु लिम्बू, मेचीनगर ३ धरधरेका ५८ वर्षीय डिल्ले गहतराज, भद्रपुर १० का ७१ वर्षीय डम्वरबहादुर लिम्बूसहित धेरैले विद्युतीय धरापमा परी ज्यान गुमाई सकेका छन् । जंगली हात्तीले मच्चाएको उपद्रो नियन्त्रणका निर्माण गरिएको अत्याधुनिक सोलार फेन्सिङमा परेर मानिसमात्र होईन हात्ती समेत मरेको डिभिजन वन कार्यालय झापाले जनाएकोछ ।