साफको उपाधिका लागि आज नेपाल र भारतबिच खेल हुँदै
काठमाडौं । आज नेपाल र भारतबिच साफ च्याम्पियनसीपको फाइनल खेल हुँदैछ । तेह्रौं संस्करणको साफ च्याम्पियनसीपको उपाधिका लागि नेपालले आज भारतसँग खेल्दैछ ।
माल्दिभ्सको माले राष्ट्रिय फुटबल स्टेडियममा हुने खेल नेपाली समय अनुसार पौने ९ बजे सुरु हुनेछ । भारत लिग चरणको विजेताको रुपमा फाइनल पुगेको हो भने नेपाल उपविजेता बन्दै फाइनलमा पुगेको हो ।
भारतले समुह चरणमा दुई जित र दुई बराबरीको नतिजा सहित ८ अंक बटुलेको छ । नेपालले २ जित, एक बराबरी र एक हारको नतिजा सहित ७ अंक प्राप्त गरेको छ । नेपाली टोलीको मुख्य खेलाडीको रुपमा रहेका अन्जन विष्टले भने आजको खेल खेल्न नपाउने भएका छन ।
भारत र बंगलादेशविरुद्धको खेलमा १–१ गरी दुईवटा पहेंलो कार्ड पाएपछि अन्जनले आजको खेल गुमाउन लागेका हुन । जारी प्रतियोगितामा दुई गोल गरिसकेका अन्जनको अनुपस्थितिले आजको फाइनल खेलमा नेपाललाई घाटा हुन सक्ने अनुमान गरिएको छ ।
भारतका फरवर्ड फारुख चौधरी चोटका कारण र प्रशिक्षक स्टिमाच र अन्य खेलाडी पनि रातो कार्डका कारण मैदान बाहिरै रहनेछन । कप्तान किरण चेम्जोङले आजको जीतका लागि पुरानो घाउ बिर्संदै आक्रमक रुपमा खेल्दै इतिहास रच्ने बताएका छन ।