टीका लगाउन गएको बेला देउवाको घरमा चोरी
धनगढी । शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवाका भाइ भरतबहादुर देउवाको घरमा चोरी भएको छ । दशैँको टीका लगाउन देउवा परिवार आफन्तकोमा गएको बेला चोरी भएको प्रहरीले जनाएको छ ।
धनगढी उपमहानगरपालिका २ सन्तोशी टोलका देउवा परिवार शुक्रबार दिउँसो घर नजिकै आफन्तकोमा दशैँको टीका लगाउन गएका थिए । घरमा कोहि नभएको मौकामा सुनका गरगहना र नगद चोरी भएको हो ।
देउवाले चोरले चार हजार नगदसहित करीब तीन तोला सुन र तीन तोला चाँदी चोरी भएको बताउँदै घरमा रहेको अन्य सामान भने सुरक्षित रहेको बताए । ‘हामी ढोकामा ताल्चा लगाएर नजिकै रहेको आफन्तकोमा टीका लगाउन गएका थियौँ,’ देउवाले भने, ‘ताल्चा रडले खोलिएको छ । सबै दराज खोलेर नगदसहित तीन तोला सुन र तीन तोला चाँदी लगिएको छ ।’
घरमा चोरी भएको खबर पाउने बित्तिकै प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले बताए । घटनाको अनुसन्धान भइरहेको बताउँदै चोरी भएको नगद र गरगहनाबारे विस्तृत विवरण प्राप्त भइनसकेको प्रहरीले जनाएको छ ।