इलाम नगरपालिकाले सामुदायिक कृषि क्याम्पस सञ्चालन गर्ने
इलाम । इलाम नगरपालिकाले ‘इलाम सामुदायिक कृषि क्याम्पस’ सञ्चालन गर्न लागेको छ । दक्ष कृषि प्राविधिक उत्पादन गर्ने उद्देश्यले नगरपालिकाले क्याम्पस सञ्चालन गर्न लागेको हो ।
इलाम नगरपालिकाले सञ्चालन गर्न लागेको सामुदायिक कृषि क्याम्पसको काम तीब्र पारिएको छ । यही शैक्षिक सत्रदेखि क्याम्पस सञ्चालन गर्ने गरी प्राध्यापक भर्ना प्रक्रिया शुरु गरिएको छ भने कक्षा कोठाको व्यवस्थापन भइरहेको क्याम्पस सञ्चालक समितिका सचिव ठाकुरनारायण श्रेष्ठले बताए ।
इलाम नगरपालिका–९ शेरामा बसपार्कका लागि निर्माण गरिएका भवनलाई मर्मत गरेर कक्षा कोठा, ल्याब र पुस्तकालय निर्माण भइरहेको श्रेष्ठले बताए । पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन लिने प्रक्रिया अन्तिम चरणमा पुगेको छ । ‘कागजी प्रक्रिया पूरा गर्नुका साथै पूर्वाञ्चल विश्वविद्यालयका पदाधिकारीहरुसँग कुरा भइरहेको छ,’ सचिव श्रेष्ठले भने,‘यसै शैक्षिक सत्रदेखि कक्षा सञ्चालन गर्ने गरी सम्बन्धन दिने अन्तिम तयारी भएको छ ।’
इलाम नगरपालिका अन्तर्गत हुने सामुदायिक कृषिल क्याम्पस निजी क्याम्पसको तुलनामा सस्तो हुनेछ । आठ सेमेष्टरको चार वर्षे कोर्ष चार लाख रुपैयाँमा पूरा हुनेछ । अहिले निजी क्याम्पसमा बिएस्सीएजीको कोर्ष पुरा गर्न १३ लाख रुपैयाँसम्म लाग्छ । सरकारी क्याम्पसले भने तीन लाख ५० हजारसम्ममा पढाउँछन् । इलाममा सञ्चालन हुने सामुदायिक क्याम्पस सरकारी क्याम्पसको तुलनामा थोरै महङ्गो भएपनि पठन पाठन भने गुणस्तरीय हुने क्याम्पस सञ्चालक समितिका अध्यक्ष जसबहादुर लुङ्गेलीले बताए ।
पहिलो सेमेष्टरको लागि ४० जना विद्यार्थीले भर्ना पाउने छन् । चार वर्षपछि पूर्ण रुपमा क्याम्पस सञ्चालन हुँदा एक सय ६० विद्यार्थी हुनेछन् । विज्ञान विषय लिई प्लसटु उत्तीर्ण गरेका विद्यार्र्थी, आइएस्सी गरेकाहरु, सिटिइभिटीमा कृषि विषय अध्ययन गरेका विद्यार्थीले सामुदायिक क्याम्पसमा बिएसस्सीएजी पढ्न पाउनेछन् । कक्षा १२ को नतिजा प्रकाशित भएपछि क्याम्पसले भर्ना प्रक्रिया शुरु गर्नेछ ।
क्याम्पस स्थापनाको सवै खर्च इलाम नगरपालिकाले व्यहोर्ने छ । क्याम्पस स्थापनाको लागि इलाम नगरपालिकाले चालु वर्षमा २५ लाख रुपैयाँ विनियोजन गरेको छ । अहिले सोही बजेटबाट संरचना तयार भइरहेको हो । नगरपालिकाले प्रत्येक वडामा दश जना कृषि प्राविधिक उत्पादन गर्ने नीति पारित गरेको छ । त्यसकै कार्यान्वयनको लागि प्राविधिक क्याम्पस स्थापना हुँदै गरेको सञ्चालक समितिका सचिव श्रेष्ठले बताए ।
इलाम नगरपालिकाले सामुदायिक कृषि क्याम्पस स्थापना गर्न महेन्द्ररत्न बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख जसबहादुर लुङ्गेलीको अध्यक्षतामा १३ सदस्यीय सञ्चालक समिति गठन गरेर क्याम्पस स्थापनाको प्रक्रिया अघि बढाएको थियो । सामुदायिक कृषि क्याम्पसमा बाली विज्ञान, मत्स्य, पशुविज्ञान र हर्टिकल्चर गरि चारवटा संकायमा अध्ययन अध्यापन हुनेछ । नगरपालिकाले क्याम्पस सञ्चालनका लागि छुट्टै कार्यविधी तयार पारेको छ ।
सघन सहरी विकास कार्यक्रम अन्तर्गत सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय इलामले बसपार्क निर्माण गरी नगरपालिकालाई हस्तान्तरण गरेको थियो । दाताहरुले दिएको १४ रोपनी जग्गामा निर्माण भएको बसपार्क बजार क्षेत्रबाट टाढा रहेकोले सञ्चालनमा कठिनाई भएको थियो । उक्त बसपार्क सञ्चालनमा समस्या भएपछि नगरपालिकाले बजार क्षेत्रभित्र रहेको पुरानो बसपार्कमा बहुतले पार्किङ निर्माण गरिरहेको छ । दाताहरुले आफ्नो क्षेत्रको विकास हुन्छ भनेर बसपार्क निर्माण गर्न दिएपनि बसपार्क सञ्चालनमा नआएपछि निराश बनेका थिए । बसपार्क सञ्चालनमा नआएपछि दाताहरुको समेत परामर्शमा खाली रहेको उक्त भवनमा नगरपालिकाले क्याम्पस सञ्चालन गर्न लागेको नगरपालिकाको प्रवक्ता समेत रहेका श्रेष्ठले जानकारी दिए । ‘स्थानीय ठाउँको विकास हुन्छ भनेर दाताहरुले दिएको जग्गामा बसपार्क निर्माण भएको भएपनि सञ्चालनमा आउन सकेको थिएन,’ उनले भने,‘दाताहरुको परामर्शसमेत लिएर क्याम्पस सञ्चालन गर्न लागेका हौँ ।’ क्याम्पस सञ्चालनमा आएपछि उक्त ठाउँमा चहलपहल समेत बढ्ने श्रेष्ठले बताए ।