शाहरुख खानका छोरा आर्यन जेल चलान
एजेन्सी । बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यनलाई जेल पठाइएको छ । अदालतले जमानत खारेज गरेपछि उनलाई अरु आरोपीसँगै जेलमा पठाइएको हो ।
मुम्बइस्थित समुद्री किनारको क्रुज सीप पाटीमा प्रहरीले छापा मार्दा आर्यनसहित अन्य मानिसलाई पक्राउ गरेको थियो । पानी जहाजमा लागू पदार्थको प्रयोग भएको सूचनाका आधारमा प्रहरीले छापा मारेको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । जहाज तीन दिनको संगीत यात्राका लागि मुम्बइबाट गोवा प्रस्थान गरेको थियो । अहिले उनलाई आर्थर रोड जेलमा राखिएको छ । किला अदालतमा सुनुवाई चलिरहेको समयमा नै एनसीबीका अधिकारीहरुले आर्यनलाई जेल लगेका थिए । आर्यनसहित अन्य आरोपीहरुलाई पनि जेलको पहिलो तलमा ब्यारेक नम्बर १ मा राखिएको छ ।
अहिलेसम्म कुनै पनि आरोपीलाई त्यहाँको पोशाक दिइएको छैन । सबैलाई ५ दिनसम्म क्वारेन्टाइनमा राखिनेछ । उनीहरुलाई कोरोना परीक्षण गरिनेछ । आर्यनसहितका आरोपीहरुलाई कुनै पनि विशेष व्यवस्था नगरिने भारतीय सञ्चार माध्यमले जनाएका छन् । जेलमा आर्यनलाई कुनै पनि विशेष व्यवस्था हुनेछैन । उनले घरको खाना खान चाहेमा अदालतको स्वीकृती लिनुपर्ने हुन्छ । अदालतले आर्यनलाई बाहिरको खाना खाने अनुमति दिएको छैन । जेलमा उनले अरुले जस्तै नियम पालना गर्नुपर्ने हुन्छ । जेलमा बिहान ६ बजे उठ्नुपर्ने व्यवस्था छ । ७ बजे बिहानको खाजा दिइन्छ । बिहानको खाजामा पुवा र सुजीको पिठोबाट बनेको हलुवा दिइन्छ । जेलमा ११ बजे खानाको व्यवस्था हुन्छ । जसमा रोटी, साग, दाल र भात हुन्छ । आर्यनलाई पनि जेलमा घुम्ने वा डुल्ने सुविधा छैन । उनलाई वा अन्य जेलमा बस्नेलाई थप खाना चाहिएमा क्यान्टिनमा थप पैसा तिर्नुपर्ने हुन्छ । साँझ ६ बजे खाना दिइन्छ । आर्यनले पनि बाँकी जेलमा बस्नेले जस्तै साथमा प्लेट बोकेर खाना माग्नुपर्ने हुन्छ ।