मोफसलमा पहिलो पटक प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न
झापा । मोफसलमा पहिलो पटक पाँच दिने पूर्व प्रस्थान अभिमुखिकरण प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न भएको छ । बैदेशिक रोजगार बोर्डको सचिवालय र स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानको आयोजनामा भदौ १८ गते मोरङको बलियामा तालिम सम्पन्न भएको हो ।
कार्यक्रमा प्रमुख अतिथि प्रदेश १ का प्रमुख सचिव रामप्रसाद घिमिरेले सुरक्षित, मर्यादित र ब्यवस्थित आप्रवासनको बिषयमा राज्यले अल्पकालिन, मध्यकालिन तथा दीर्घकालिन रणनीति बनाउने गरेको बताए । घिमिरेले प्रशिक्षकले बैदेशिक रोजगारीमा जाने कामदारलाई त्यस देशको श्रम कानुन, धर्म, संस्कृति, ट्राफिक नियम लगायतको बिषयमा स्पष्ट जानकारी दिन सकेमा श्रमिकले विभिन्न दुर्घटनामा पर्न, कानुनी झमेला भोग्नबाट टाढा रहने बताए ।
दक्ष प्रशिक्षक उत्पादन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले जानकारी दिए । बैदेशिक रोजगार बोर्डको सचिवालयकी उप सचिब मैयाँ कडेलले बोर्डले गर्ने गतिविधिको बारेमा प्रष्ट्याएकी थिइन । स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक पितकुमार श्रेष्ठले प्रशिक्षकहरुको भुमिका महत्वपूर्ण हुने भएकाले व्यवहारिक ज्ञान प्रदान गर्न तालिम फलदायी हुने बताए ।
कार्यक्रममा बैदेशिक रोजगार बोर्डका उपसचिव दीनबन्धु सुबेदी, मोरङ जिल्लाका प्रमुख जिल्ला अधिकारी कोषहरी निरौला, श्रम कार्यालय भद्रपुरका प्रमुख दुर्गा आचार्य, मनोबिद डाक्टर करुणा कुवर, अभियान्ता सरु जोशी, स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानका निर्देशक जयकृष्ण जोशी, प्रशिक्षण तथा अनुसन्धान अधिकृत हेमराज थापा लगायतले सहजीकरण गरेका थिए । कार्यक्रममा १ नम्बर प्रदेशका २५ जनाको सहभागीता रहेको सहभागी विशाल खरेलले बताए ।