जनशक्ति नहुँदा झापामा ‘थन्किए’ भेन्टिलेटर
झापा । कोरोना कहरका बिच दाताले झापाका केहि पालिकालाई दिएका महंगो मूल्यका भेन्टिलेटर यति बेला कागलाई बेल पाक्यो हर्ष न बिस्मत भने झै भएको छ । ती भेन्टिलेटर प्रयोगबिहिन अवस्थामा थन्किएका छन् । संक्रमितहरु बेड र अक्सिजन अभावमा मृत्युवरण गर्नु परिरहेको अवस्थामा बिरामीको स्वास्थ्य अवस्था जटिल हुँदा प्राण बचाउन प्रयोग गरिने भेन्टिलेटर जनशक्ति अभावमा झापाका दुई पालिकामा यति कै थन्क्याउनु परेको हो ।
आनी छोइङ डोल्मा फाउण्डेशनले जेठ २७ गते झापाको अर्जुनधारा र बिर्तामोड नगरपालिकालाई एक÷एक थान भेन्टिलेटर सहयोग गरेको थियो । नगरपालिकाले हर्षोल्लासका साथ उक्त भेन्टिलेटर सहित अन्य स्वास्थ्य सामाग्री बुझ्यो तर हालसम्मपनि उक्त भेन्टिलेटर प्रयोगमा ल्याउन भने सकेको छैन । बिर्तामोड नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख तुलसीराम पोख्रेलले जनशक्ति र भौतिक संरचना अभावका कारण भेन्टिलेटर प्रयोग गर्न नसकिएको बताए । ‘नगर अस्पताल बनिरहेको अवस्थामा छ,’ उनले भने,‘मेनपावर र संरचना अभावमा जुन अवस्थामा ल्याइएको हो भेन्टिलेटर त्यहि अवस्थामा सुरक्षित छ ।’ भेन्टिलेटर संचालनका लागि बिर्तामोडमा एकतिर भौतिक संरचना अभाव छ भने अर्कोतिर जनशक्ति छैन ।
त्यस्तै अर्जुनधारा नगरपालिकामा रहेको भेन्टिलेटरपनि त्यहि अवस्थामा रहेको छ । अर्जुनधारामा आनी छोइङ डोल्मा फाउण्डेशनले दिएको एक थान र स्वास्थ्य सेवा विभागले कोरोनाको पहिलो लहरमा दिएको एकथान पोर्टेबल गरी दुई थान भेन्टिलेटर रहेको नगर स्वास्थ्य शाखा प्रमुख केशव रिजालले जानकारी दिए । रिजालका अनुसार ती भेन्टिलेटरमध्ये एक थान शनिश्चरे अस्पतालमा र एक थान आइसोलेसन सेन्टरमा तयारी अवस्थामा राखिएको छ । रिजालले भेन्टिलेटर तयारी अवस्थामा राखिएको बताएपनि उक्त भेन्टिलेटर सञ्चालनका लागि पर्याप्त जनशक्ति भने छैन । उनका अनुसार एकजना मेडिकल अधिकृत र एकजना नर्सिङ स्टाफलाई तालिम दिइएको छ । तर दुईजना जनशक्तिले मात्र दुईवटा भेन्टिलेटर सञ्चालन गर्न नसकिने स्वास्थ्यकर्मीहरु बताउँछन् ।
दाताले आवश्यक्ता पहिचान नगरी जथाभावी सहयोग गर्दा कतिपय सहयोग सामाग्री प्रयोगबिहिन बन्ने गरेको जानकारहरु बताउँछन् । हालको महामारीमा भेन्टिलेटर नहुँदा कतिपय अस्पतालहरुले सास्ती भोग्नु परिरहेको छ भने यसरी कतिपय भेन्टिलेटरहरु चलाउने जनशक्ति र भौतिक संरचनाको अभावमा प्रयोगबिहिन अवस्थामा थन्क्याउनु परिरहेको छ ।