निषेधाज्ञा उल्लंघन गर्दै सयौंको भिडमा गजमेरको कार्यक्रम
प्रशासन भने बेखबर
झापा । कोरोना संक्रमणको अति उच्च जोखिममा रहेको झापामा द भ्वाइस अफ नेपाल सिजन ३ का विजेता किरण गजमेरको भव्य कार्यक्रम सम्पन्न भएको छ ।
झापाको अर्जुनधारास्थित खुदुनाबारीमा शुक्रबार सयौं दर्शकको सहभागितामा भएको कार्यक्रमबारे भने जिल्लाका प्रशासनिक निकाय भने बेखबर बनेको छ । प्रहरी प्रशासनलाई कुनै जानकारी नगराई जुकेखाडी सामुदायिक बनको सभाहलमा किरणलाई बोलाएर कार्यक्रम गरिएको हो । उक्त औपचारिक कार्यक्रमको प्रमुख अतिथि अर्जुनधारा ३ वडाध्यक्ष जीवनकुमार भण्डारी थिए ।
स्थानीय च्यारिटी युथ क्लबको आयोजनामा भएको कार्यक्रममा खचाखच भीडका बीच गजमेरलाई सम्मान गरिनुका साथै सांगीतिक कार्यक्रम गरिएको थियो । कार्यक्रममा विजेता गजमेरसँगै टेलिभिजन कार्यक्रम संचालक कृष्ण कँडेल, कलाकार राजेश घतानीलगायत करीव २० जना अतिथि काठमाडौंबाट आएका थिए ।
भ्वाइस अफ नेपाल सिजन ३ का विजेता गजमेर जन्मेको ठाउँ खुदुनाबारी भएकाले उनलाई बोलाएर कार्यक्रम गरिएको आयोजक च्यारिटी युथ क्लबका सल्लाहकार खगेन्द्र लिङ्देनले बताए । कार्यक्रममा वडा कार्यालयका तर्फबाट किरणलाई सम्मान गरिनुका साथै करीव ३ घण्टाजति सांगीतिक कार्यक्रम गरिएको उनले जानकारी दिए ।
आफूहरुलाई त्यसबारे कुनै जानकारी नभएको डिसीसीएमसीका संयोजक रहेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले बताए । ‘यदि त्यस्तो भएको हो भने पूरै गलत भएको छ’, उनले भने, ‘म प्रहरीलाई खोजी गर्न लगाउँछु र आयोजकलाई कार्वाही हुन्छ ।’
यहाँसम्म कि आयोजकले नेपाल प्रहरीलाई पनि खबर गरेका छैनन् । इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रमुख प्रहरी नायव उपरीक्षक सन्तोष आचार्यले भने, ‘हामीलाई कुनै किसिमको जानकारी छैन, कार्यक्रम गर्नेले जवाफदेही बन्नुपर्छ ।’
यस विषयमा वडाध्यक्ष भण्डारीसँग सम्पर्क राख्दा उनले खुदुनाबारीमा जन्मिएका किरणले आफू अमेरिका गइहाल्ने भनेपछि बोलाएर कार्यक्रम गरिएको प्रतिक्रिया दिएका छन । ‘यस्तै हुँदो रहेछ म त्यसको कानूनी सजाय भोग्न तयार छु’, उनले भने, ‘सिडियोले बोलाउनु भयो भने स्पष्टीकरण दिन तयार छु ।’
सभाहलमा कार्यक्रम हेर्नेको अत्याधिक भिड भएपछि सशस्त्र प्रहरीलाई भीड सम्हाल्न गाह्रो भएको जनाइएको छ । ‘सामाजिक दूरीको त कुरै छाडौं मास्क पनि खासैले लगाएका थिएनन’, एक सहभागीले भने ।