२०८३ बैशाख ६ गते , आईतबार

प्रधानमन्त्री देउवालाई नेता कोइरालाको प्रश्न

sajilo news
परिवेश मिडिया
२०७८ श्रावण ३० गते , शनिबार
प्रधानमन्त्री देउवालाई नेता कोइरालाको प्रश्न

काठमाण्डौ । बूढानिलकण्ठमा शुक्रबार जारी नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्य शेखर कोइरालाले प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवालाई विभिन्न प्रश्न राखेका छन् ।

सभापति देउवालाई प्रधानमन्त्री भएकोमा बधाई तथा शुभकामना दिँदै कुरा अघि बढाएका कोइरालाले सरकारको कामकारबाही प्रभावकारी नहुने हो कि भन्ने चिन्तासमेत जनाएका थिए ।

सभापति देउवाले पार्टीमा पनि ध्यान दिनुपरेकोले सरकारका कामकारबाहीमा प्रभाव पर्न सक्ने कोइरालाको भनाइ थियो ।

यतिमात्र होइन प्रधानमन्त्रीले मन्त्रिपरिषद विस्तारमा गरेको ढिलाइबारे पनि कोइरालाले जिज्ञासा राखेका छन् ।

‘तपाईं प्रधानमन्त्री भएको एक महिना भयो । १५ मन्त्रालय नेतृत्वविहीन छ । यस्तो अवस्थाले कसरी जनहितमा काम गर्न सक्छ र सुशासन दिन सक्छरु’ कोइरालाको प्रश्न छ ।

प्रतिनिधि सभामा सांसद संख्या कम भए पनि कांग्रेस सरकारमा रहेको भन्दै उनले गठबन्धनको सरकारमाथि चुनौती रहेको बताए। उनले छिमेकी देशसँगका सम्बन्ध सन्तुलनमा राख्नुपर्ने पनि बताए ।

उनले पार्टी केन्द्रीय कार्यालयमा केन्द्रीय समिति बैठक राख्न नसकेको भन्दै नेतृत्वको आलोचना गरेका थिए। पार्टी कार्यालयमा धर्ना बसेकाहरूका माग सम्बोधन गरिनुपर्ने उनको भनाइ छ ।

उनले पार्टीको बैठक सभापतिको निवासमा नभई कार्यालयमै राख्नुपर्नेमा जोड दिएका थिए ।

उनले १४ औं महाधिवेशन गर्न नेतृत्वको इच्छाशक्ति नदेखिएको बताएका छन्। ‘यहाँहरूले महाधिवेशनको टुंगो लगाउनुहोला भनेर केन्द्रीय सदस्यहरू र नेता तथा कार्यकर्ता कुरेर बस्यौं तर तपाईंहरूले कार्यतालिका ल्याउनुभएन,’ उनले भने ।

समायोजनका नाममा क्रियाशील वितरण गर्दा धेरै जटिलता देखा परेको कोइराला बताउँछन् । मापदण्डअनुसार मात्रै क्रियाशील सदस्यता दिइनुपर्ने उनले बताए ।

उनले विवाद रहेका वडामा १३ औं महाधिवेशनकै क्रियाशीलबाट अधिवेशन गर्न सकिने विकल्प पनि अगाडि सारेका छन् ।

उनले विशेष महाधिवेशन गर्न नहुने बताए । नियमित महाधिवेशन नै गर्नुपर्ने कोइराला बताउँछन्। विशेष महाधिवेशन र म्याद थप गर्ने कुरा कदापी मान्य नहुने कोइरालाले बताए ।

उनले एकतावद्ध भएर पार्टी अगाडि बढ्नुपर्नेमा जोड दिएका छन् ।


सम्बन्धित समाचार