ओली र लेखकलाई पक्राउ गर्न दबाब दिए पछि बालेन र सुदन विरुद्ध उजुरी
बिर्तामोड । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह र हामी नेपालका संस्थापक सुदन गुरुङविरुद्ध किटानी जाहेरी दिने भएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंमा केहीबेरपछि जाहेरी दिन जाने अखिलका महासचिव दीपक धामीले बताए ।
‘तोडफोड, आगजनी र प्रहरी हत्या गरेको विषयमा उजुरी दिन लागेका हौँ । केहीबेरमा जान्छौं,’ उनले भने ।
भदौ २३ र २४ गते जेन जीले गरेको प्रदर्शन दबाउन भूमिका खेलेको भन्दै तत्कालीन प्रधानमन्त्री खड्गप्रसाद ओली र गृहमन्त्री रमेश लेखकलाई पक्राउ गरी कारबाही गर्न जेन जीहरूले सरकारलाई दबाब दिइरहेका छन् । पार्टी अध्यक्ष ओलीलाई पक्राउ गर्न जेएनजीहरूले दबाब बढाएसँगै नेकपा एमालेको विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले जेन जी अगुवा गुरुङ र साह विरुद्ध उजुरी दिन लागेका हुन् ।