२०८३ बैशाख ५ गते , शनिबार

स्वास्थ्यको कारण देखाउँदै शिक्षा मन्त्री भट्टराईले दिइन् राजीनामा

sajilo news
परिवेश मिडिया
२०८२ बैशाख ८ गते , सोमबार
स्वास्थ्यको कारण देखाउँदै शिक्षा मन्त्री भट्टराईले दिइन् राजीनामा

बिर्तामोड । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले स्वास्थ्यको कारण देखाउँदै पदबाट राजिनामा दिएकी छन्। सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भट्टराईले राजीनामा बुझाएकी हुन् ।
शिक्षामन्त्री भट्टराईको राजीनामा स्वीकृत हुन बाँकी छ । उनको राजीनामा लगत्तै अहिले प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बसिरहेको छ ।
सम्भवतः प्रधानमन्त्री ओलीले शिक्षामन्त्रीको राजीनामाबारे मन्त्रिपरिषद्‌मा ब्रिफिङ गर्नेछन् ।
स्रोतका अनुसार, शिक्षामन्त्री भट्टराईले आफ्नो राजीनामापत्रमा स्वास्थ्यको कारण देखाएकी छिन् ।
शिक्षामन्त्री भट्टराई गत माघमा उनी बिरामी परेकी थिइन् । तर उपचारपछि निको भएको थियो ।
तर, शिक्षामन्त्री निकट स्रोत भने स्वास्थ्यमात्रै नभइ शिक्षक आन्दोलनका कारण परेको पछिल्लो दबाब पनि राजीनामाको कारण भएको बताउँछ ।
‘मन्त्रीज्यूलाई प्रेसर ठूलो थियो,’ नाम उल्लेख नगर्ने शर्तमा मन्त्रालयका एक अधिकारी भन्छन्, ‘मन्त्रालयलाई शिक्षकको आन्दोलन सुल्झाउन कठिन भएको छ ।’
मन्त्री भट्टराईले शिक्षकसँगको सहमतिका लागि ७ बुँदे प्रस्ताव समेत तयार पारेकी थिइन् ।
ईसीडीका शिक्षकको तलब १७ हजार ३०० बनाउने, सामाजिक सुरक्षा कोषको नयाँ प्याकेज बनाउने, दुर्गम भत्ता उपलब्ध गराउने, ग्रेड समायोजन, मर्यादा क्रम कायम गर्ने, हाललाई निजामती अस्पतालबाट शिक्षाको उपचारमा छुटको व्यवस्था लगायतका विषय उनको ७ बुँदामा तयार थिए ।
यसबारे मन्त्री भट्टराई आजैको मन्त्रिपरिषदमा लगेर शिक्षकको समस्या समाधान गर्नेगरी सोचेकी पनि थिइन् । यद्यपि, लगातारका दबाब थेग्न नसक्दा राजीनामा दिने अवस्थामा पुगेको मन्त्रालयका उनी निकट एक अधिकारीले दाबी गरे ।
तर मन्त्री भट्टराईले आफ्नो राजीनामाको अन्य कारण भने सार्वजनिक गरेकी छैनन् । भट्टराईले आफू निकटस्थहरूसँग केही दिनदेखि काम गर्न कठिन भएको गुनासो गरिरहेकी थिइन् ।

सम्बन्धित समाचार