कित्ताकाट खुलेपनि अपेक्षाअनुसार बढेन कारोबार र राजश्व
बिर्तामोड । २०८० बैशाख ५ गते मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले जग्गाको कित्ताकाट खुलाएपनि झापामा कारोबार रकममा खासै वृद्धि नभएको पाइएको छ । जग्गाको कित्ताकाट रोकिएकाले कारोबार रकम खुम्चिएको भनिएपनि कित्ताकाट खुलेपनि कारोबार रकम भने उस्तै रहेको पाइएको हो ।
सरकारले भूउपयोग नीति लागू गर्ने भन्दै २०७९ जेठमा जग्गा कित्ताकाट गर्न रोक लगाएको थियो । कित्ताकाट खुला गरेपछि कारोबार संख्या र राजश्व रकम बढ्ने अनुमान गरिएको थियो । तर झापामा घरजग्गाको कारोबारमा खास वृद्धि नभएको पाइएको हो । आव ०७९/८० मा झापामा १७३९९ वटा जग्गा कारोबारबाट ३१ करोड ३१ लाख २० हजार ६३७ रुपैया रजिष्ट्रेशन दस्तुर संकलन भएको भूमिसुधार तथा मालापोत कार्यालय भद्रपुर झापाका सूचना अधिकारी राजु दाहालले जानकारी दिए ।

सूचना अधिकारी राजु दाहाल
त्यस्तै आव ८०/८१ मा २७७८५ वटा कारोबारबाट ४२ करोड ६२ लाख २२ हजार २६४ रुपैँया राजश्व संकलन भएको थियो भने आलु आवको चैत्र ४ गतेसम्ममा २७ करोड ८१ लाख ५३ हजार रुपैँया राजश्व संकलन भएको दाहालले जानकारी दिए ।
आव ०७९/८० मा भन्दा कित्ताकाट खुलेपछिको आव ८०/८१ र चालु आवमा कारोबार संख्या र राजश्व बढेको देखिएपनि जग्गाको मुल्याङ्कन अनुसार राजश्व रकम भने नबढेको मालपोत अधिकृत चेतन अधिकारीले जानकारी दिए ।
मालपोत अधिकृत चेतन अधिकारी
गत बर्ष जग्गाको मुल्याङ्कनमा सालाखाला २० प्रतिशत वृद्धि भएपनि सो अनुपातमा राजश्व रकम भने नबढेको उनले बताए ।
महिलाको नाममा जग्गा पास गर्ने बढे
पछिल्लो बर्षमा महिलाको नाममा जग्गा पास गर्नेको संख्या बढेको छ । महिलाको नाममा जग्गा रजिष्ट्रेशन गर्दा राजश्व छुट हुने भएकाले उनीहरुको नाममा रजिष्ट्रेशन गर्नेको संख्या बढेको बताइएको छ ।
आव ०७९/८० मा १७३९९ वटा कारोबार हुँदा महिलाको नाममा ९१०४, आव ८०/८१ मा भएको २७७८५ वटा कारोबारमध्ये महिलाको नाममा १४२८४ र चालु आवको माघ मसान्तसम्ममा भएको १२९५१ वटा कारोबार मध्ये ६५६९ महिलाको नाममा कारोबार भएको सूचना अधिकारी दाहालले जानकारी दिए ।