युवासंघ नेतामाथि मध्यरातमा बिर्तामोडमा सांघातिक आक्रमण
बिर्तामोड । झापाको बिर्तामोडस्थित भद्रपुर रोडमा मध्यरातमा युवासंघको नेतामाथि सांघातिक आक्रमण भएको छ । आक्रमणबाट युवा संघका केन्द्रीय सदस्य तथा झापा इञ्चार्ज खगेन्द्रराज आङ्देम्बेसहित तीन जना घाइते भएका छन् ।
आक्रमणमा बिर्तामोड नगरपालिका वडा नम्बर ४ बस्ने बर्ष अन्दाजी ३७ का खगेन्द्रराज आङ्दम्बे, युवा संघका अर्का नेता वडा नम्बर ९ बस्ने बर्ष अन्दाजी ३५ का विश्वदिप राजवंशी र वडा नम्बर ४ बस्ने अजय खवास घाइते भएका छन् । आङ्देम्बेको गालाको बायाँ साइडमा काटिएको र अवस्था गम्भीर रहेको बताइएको छ । खवासको बायाँ हातको माझी औला काटेको, अवस्था सामान्य र राजवंशीको अनुहार र खुट्टामा चोट लागेको बताइएको छ । घाइतेहरुको बीएण्डसी अस्पतालमा उपचार भइरहेको छ ।
राति १२ः४५ बजे बिर्तामोड नगरपालिका वडा नम्बर ४ भद्रपुर रोडस्थित दरबार रेस्टुरेन्ट अगाडी सोही रेस्टुरेन्टमा खाई/पिई गरी घर फर्किने क्रममा उनीहरुमाथि आक्रमण भएको हो ।
बिर्तामोडका किरण राई लगायत ४/५ जना युवा आएर तरबारजस्तो देखिने धारिलो हतियार प्रहार गर्नुका साथै कुटपिट गरी उनीहरुलाई घाइते बनाएको बताइएको छ । घटना संलग्न मानिसहरु फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।