२०८३ बैशाख ६ गते , आईतबार

चर्च ब्वाइजले उचाल्यो झापा कपको उपाधि

sajilo news
परिवेश मिडिया
२०८१ पौष ८ गते , सोमबार
चर्च ब्वाइजले उचाल्यो झापा कपको उपाधि

बिर्तामोड । झापा कपको पहिलो संस्करणको उपाधि चर्च ब्वाइज युनाइटेडले जितेको छ । उपाधिसँगै चर्च ब्वाइजले नगद १० लाख रुपैयाँ प्राप्त गरेको छ ।
उपविजेता एनआरटी क्लबले ५ लाख रुपैयाँमा चित्त बुझायो । सोमबार भएको फाइनल खेलमा चर्च ब्वाइजले एनआरटीलाई ३–१ गोलअन्तरले पराजित गर्यो ।
चर्च ब्वाइजले जितसँगै १० दिनअघि सम्पन्न इलाम गोल्डकपको फाइनलमा एनआरटीसँग व्यहोरेको हारको बदला लिएको छ । इलाम गोल्डकपको फाइनलमा चर्च ब्वाइजलाई एनआरटी क्लबले ३–० गोलअन्तरले पराजित गरेको थियो ।
गत वर्ष यही रंगशालामा आयोजित झापा गोल्डकपको छैटौँ संस्करणमा पनि चर्च ब्वाइजले उपाधि हात पारेको थियो ।
बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा भएको ‘झापा कप’ फाइनल प्रतियोगिताको सुरुवातमा एनआरटीले बल पोजिसन राखेको थियो । स्कोर भने हुन नसक्दा एनआरटीले उपाधि हात पार्न असफल भएको हो ।
खेलको २१औँ मिनेटमा चर्च ब्वाइजले अग्रता लियो । चर्च ब्वाइजका समिर तामाङले एनआरटीका डिफेन्डरको मिसपासलाई सदुपयोग गर्दै गोल गर्न सफल भए । मैदानको मध्यभागबाट सिंगल खेल्दै गोलरक्षकको हातबाट फुत्किएको बललाई वान टचमा जाली चुमाए ।
४३औँ मिनेटमा चर्च ब्वाइजले अग्रता दोब्बर बनायो । रोहन कार्कीले डिबक्समा मिलाइदिएको पासलाई डिबक्समा अनमार्क रहेका विदेशी खेलाडी अर्मान्डले गोल गरे ।
त्यसको लगत्तै एनआरटीले १ गोल फर्कायो । विदेशी खेलाडी कार्लोसले दिएको क्रस पासमा कप्तानसमेत रहेका अञ्जन विष्टले गोल गर्दै नतिजा १–२ बनाएका थिए ।
खेलको अतिरिक्त समयमा समिर तामाङको पासमा अर्मान्डले गोल गर्दै चर्च ब्वाइजको जित सुनिश्चित पारे । खेलको प्लेयर अफ द म्याच विजेता टिम चर्च ब्वाइजका समिर तामाङ भए । उनले नगद १० हजार रुपैयाँ पुरस्कार पाए ।
प्रतियोगिताको उत्कृष्ट गोलरक्षक चर्च ब्वाइजका क्रिशल मोक्तान, प्रतियोगितामा सर्वाधिक गोलकर्ता एनआरटीका अञ्जन विष्ट, झापा ट्यालेन्टका रुपमा छनोट भएका झापा–११ का प्रदिप बुढाथोकीले जनही ३५ हजार रुपैयाँ पुरस्कार पाए ।
मस्ट भ्यालुएबल प्लेयर चर्च ब्वाइजका रोहण कार्की भए । उनले नगद १ लाख रुपैयाँ पुरस्कार पाए ।
यसैबीच, झापा ११ एफसीका व्यवस्थापक गोपाल राईलाई क्लबले नगद २५ हजारसहित लाइफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरेको थियो ।
विजेता तथा उपविजेतालाई प्रमुख अतिथि संविधानसभा सदस्य सुधीरकुमार शिवाकोटी, गोर्खा टि इस्टेटका सञ्चालक उदय चापागाईं, आयोजक झापा ११ एफसीका अध्यक्ष जलकुमार गुरुङ, नेपाल उद्योग वाणिज्य महासंघ कोशीका पूर्वअध्यक्ष टिकाराज ढकाल, अर्जुनधारा नगरप्रमुख बलदेव गोम्देन, बिर्तामोडका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोला, भद्रपुर झापा गोल्डकपका अध्यक्ष दिपेश ढकाल, महासचिव जीवनकुमार श्रेष्ठ लगायतले पुरस्कार वितरण गरेका थिए ।

सम्बन्धित समाचार