सेतो गुँरास कृषि सहकारी सस्थाको अध्यक्षमा पुनः कृष्ण पाण्डे निर्वाचित
बिर्तामोड । कृष्ण पाण्डेको अध्यक्षतामा नौं सदस्यीय नयाँ कार्य समिति चयन गर्दै सेतो गुँरास कृषि सहकारी संस्थाको १५औं वार्षिक साधारणसभा आज झापाको गरामनीमा सम्पन्न भएको छ ।
नव निर्वाचित समितिको उपाध्यक्षमा नविन सेढाई, सचिव जय कुमार प्रसाई, सह–सचिव रञ्जित प्रसाई, कोषाध्यक्षमा गोपाल अधिकारी र सदस्यहरुमा प्रदिप खनाल, पार्वता भट्टराई, खिलेश्वरी पाण्डे र जानुका बानिया रहेका छन ।
त्यस्तै लेखा समितिको संयोजकमा धन प्रसाद मिश्र तथा सदस्यहरुमा श्यामप्रसाद पकुवाल र देवका अधिकारी चयन भएका छन ।
कोशी प्रदेशका पुर्व मन्त्री एकराज कार्कीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा संस्थाका अध्यक्ष कृष्ण पाण्डेले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाको शेयर पुँजी एक करोड ८६ लाख ४३ हजार ९ सय पुगेको जानकारी दिए। संस्थामा एक करोड ३४ लाख ६४ हजार एक सय त्रियानव्वे रुपैँया निक्षेप रहेको बताउँदै अध्यक्ष पाण्डेले हाल सात सय एघार जना सेयर सदस्य रहेको जानकारी दिए ।
लेखा समितिको प्रतिवेदन प्रस्तुत गर्दै संयोजक महेन्द्र कुमार प्रसाईले सस्थाले १२ लाख ८७ हजार पाँच सय अठ्ठाईस रुपैया मुनाफा आर्जन गरेको बताए ।
विर्तामोड नगरपालिकाका शहकारी शाखा प्रमुख एवं निर्वाचन अधिकृत डिल्ली दाहाले नव निर्वाचित पदाधिकारी, सदस्यहरुलाई सपथ ग्रहण गराएका थिए । कार्यक्रममा विर्तामोड नगरपालिका वडा नम्वर सातका वडा अध्यक्ष अविरल कृष्ण खरेल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा ध्रुवप्रकाश खरेल र राजकुमारी कार्कीलाई जेष्ठ सदस्य सम्मान, असी वर्ष माथिका लक्ष्मी कार्की र बिरबहादुर बस्नेतलाई जनही छ हजार रुपैयाँ नगद सम्मान र फलफुल त्यस्तै सदस्यहरु सुजता खरेल र विना थापालाई सुत्केरी पोषण नगद सम्मान तथा विद्या देवी खरेललाई बाल बचत सम्मानले सम्मानित गरिएको थियो ।
संस्थाका उपाध्यक्ष नविन सेढाईले स्वागत गरेको कार्यक्रम सह–सचिव रञ्जित प्रसाईले संचालन गरेका थिए ।