२०८३ बैशाख ५ गते , शनिबार

कनकाईमा अनुगमन आतंक, उपभोग्य अवधि बाँकी छँदै म्याद नाघेको भन्दै औषधीय वस्तु नष्ट गरेको आरोप

sajilo news
परिवेश मिडिया
२०८० श्रावण १६ गते , मंगलबार
कनकाईमा अनुगमन आतंक, उपभोग्य अवधि बाँकी छँदै म्याद नाघेको भन्दै औषधीय वस्तु नष्ट गरेको आरोप

बिर्तामोड । कनकाई नगरपालिकाले बजार अनुगमन गर्ने नाममा ब्यवसायीलाई आतंक सिर्जना गरेको पाइएको छ । सोमबार अनुगमनमा निस्किएको टोलीले उपभोग्य अवधि बाँकी रहेको बस्तुलाई म्याद नाघेको भन्दै नष्ट गरेपछि ब्यवसायी आतंकित बनेका हुन ।

अनुगमन टोलीले सोमबार कनकाई नगरपालिका९ घैलाडुब्बा बजारमा रहेको यशोदा फार्मेसीमा अनुगमन गरेको थियो ।

अनुगमनका क्रममा सन २०२१ जुलाईमा उत्पादन भएको डाबर कम्पनीको च्यवनप्रास म्याद गुज्रिएको भन्दै नष्ट गरेको पाइएको छ । एनबी ०००२७ ब्याच नम्बर रहेको उक्त च्यवनप्रासको खरिद बिलमा म्याद समाप्ति मिति २०२४ जुलाई उल्लेख छ ।

फार्मेसीका संचालक जीवन सुवेदी सामान खरिद गर्न निस्किएको बेला टोलीले फार्मेसीमा अनुगमन गरेको संचालक सुबेदीले बताए । श्रीमतीलाई फार्मेसी रुंग्न लगाएर सामान लिन निस्किएको थिएँ, आउँदा सामान जफत गरेर नष्ट गर्न लगिएको रहेछउनले भने, ‘त्यो सामानको उपभोग्य अवधि बाँकी नै छ । मसँग प्रमाण छ भनेर नष्ट गर्न लागिएको ठाउँमा जाँदा मेरो कुरै सुनेनन, मुचुल्का गरेर ल्याइसकेको छ, मिल्दैन भोलि निवेदन लिएर आउनु भने ।

आज नगरपालिकामा कुरा गर्न जाँदा अनुगमन संयोजक समेत रहेका उपप्रमुख आशा शर्मा शिवाकोटीले पत्रकार लिएर किन आएको भन्दै उल्टै हप्काएको सुबेदीले गुनासो गरे ।

नेपाल फर्मास्युटिकल्स एसोसिएसन कोशीका अध्यक्ष शम्भु साहले अनुगमन जरुरी रहेको तर टोलीमा बिषयविज्ञ सामेल हुनुपर्ने बताए । खाध्यान्न पसल अनुगमन गर्दा डाक्टर गएर हुँदैन, त्यहाँ गुण तथा खाध्य सम्बन्धी ज्ञान भएकै मान्छे हुनुपर्छउनले भने, ‘औषधि पसलमा त झन निरन्तर अनुगमन जरुरी छ तर अनुगमन टिममा त्यससम्बन्धि जानकार प्राविधिक कर्मचारी हुनुपर्दछ ।

बजार अनुगमन समिति संयोजक नगर उपप्रमुख शिवाकोटीले भने बरामद गरेको सामानमा उत्पादन र उपभोग्य मिति दुवै उल्लेख नभएकाले नष्ट गरेको बताइन । अनुगमनमा नगरको स्वास्थ्य शाखाकी कर्मचारी टीका दवाडीसमेत उपस्थित भएको र नियमसंगत ढंगबाट अनुगमन गरिएको शिवाकोटीले जानकारी दिइन । हामी जाँदा फार्मेसी संचालक हुनुहुन्थिएन, उहाँकी श्रीमतीसमेत स्वास्थ्य क्षेत्रकै हुनुहुँदो रहेछ, बरामद गरेको सामानमा उत्पादन र उपभोग्य मिति दुवै नभएको उहाँले समेत स्विकार गर्नु भएको हो,’ उपप्रमुख शिवाकोटीले भनिन, ‘११ बजे अनुगमन गरेका हौँ, ४ बजेतिर नष्ट गर्ने बेलामा उहाँको श्रीमान आउनु भयो र अनुगमन गर्ने नगरपालिकाको के अधिकार भन्दै प्रश्न गर्नु भयो ।

नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले बरामद सामानको उत्पादन र उपभोग्य मिति नभएको फोटो चाहिँ नखिचिएको बताए । पोखरेलले उक्त फार्मेसीले नगरपालिकामा व्यवसाय दर्ता नगरेको बताउँदै नगरबासीले नगरपालिकाको कार्यमा सहयोग गर्नुपर्ने बताए ।

सम्बन्धित समाचार